काठमाण्डौ । निश्चित स्वार्थ समूह र खेलाडीहरुको संलग्नतामा दोश्रो बजारमा कमजोर वित्तीय अवस्थाका कम्पनीको सेयरमूल्य कसरी चर्को बनाइन्छ भन्ने पछिल्लो उदाहरण सिटी होटल लिमीटेड(हायात प्यालेस) बनेको छ । 

हालै आइपीओ निश्कासन गरी नेप्सेमा सूचीकृत भएको कम्पनी हो सिटी होटल । तर, यो कम्पनीको दोश्रो बजारमा कारोबार सुरु भएको दिनदेखि नै अनावश्यक रुपमा मूल्य बढाइएको छ । यसमा केही ब्रोकर, सेयर खेलाडी र समूहहरुको संलग्नता रहेको बुझिएको छ । 

मिलेमतोमा निरन्तर घाटामा रहेको यस होटलको सेयरमूल्यलाई निकै माथि पुर्याइएको छ । हाल समग्र नेप्से नै घटिरहेकोले यो स्क्रिप्टको मूल्य पनि केही घटेको छ । 

हाल यो कम्पनीको दोश्रो बजार मूल्य प्रतिकित्ता ६८८ रुपैयाँ रहेको छ । 

यो कम्पनीको मूल्य कारोबार सुरु भएको छोटो समयमै ७५८ रुपैयाँ पुर्याइएको थियो । टुरिजम सेक्टरमा सुधार भएकोले यो होटलको विजिनेश पनि सुध्रिन्छ र राम्रो नाफा कमाउँछ भन्ने हल्ला फैलाएर मुख्य प्रमोटरहरुकै योजनामा मूल्य अनावश्यक ढंगले उचाल्ने काम भएको थियो । 

सिटी होटलको सेयर कारोबार रु. १२२ बाट सुरु भएको थियो जुन ११ देखि । त्यसपछि दैनिक सर्किट लगाउँदै मूल्य ७४१ पुरयाउने काम भयो । जुलाई ९ मा प्रतिकित्ता यसको मूल्य ७४१ रुपैयाँ पुगिसकेको थियो । त्यसपछि सामान्य उतारचढाव व्यहोरेको यो कम्पनीको मूल्य जुलाई २६ मा प्रतिकित्ता ७५८ रुपैयाँ पुगेको थियो । 

त्यसपछि सामान्य अंकको घटबढ हुँदै आइतबार बजार बन्द हुँदा यो कम्पनीको दोश्रो बजार मूल्य प्रतिकित्ता ६८८ रुपैयाँ रहेको छ । यो अवधिमा लगानीकर्ताले हल्लाको पछि लागेर बिना सुझबुझ र वित्तीय विवरण नै नहेरी अन्धाधुन्ध यो कम्पनीमा लगानी गरेको सहजै अनुमान गर्न सकिन्छ । 

आइपीओको मूल्यभन्दा दोश्रो बजार मूल्य साढे ७ गुणाले बढेपछि बजारको चालसँगै यो कम्पनीको मूल्य घट्न थालेको छ।

यो कम्पनीको वित्तीय अवस्थाले भने दुई महिनाकै अवधिमा यो मूल्यमा साढे ७ गुणाले उछाल आउनु पछाडिको कारण पुष्टि हुँदैन । बरु यसले थोरै कित्ता सप्लाई भएका कम्पनीमा चलखेल गर्न सक्नेले छोटो अवधिमै सेयरमूल्यलाई कसरी र कतिसम्म उचाल्नसक्छन् भन्ने चाहिँ फेरि पनि पुष्टि गरिदिएको छ । 

कस्तो छ वित्तीय अवस्था ?
यो कम्पनी सेयर बजारमा लामो समयदेखि खेल्न माहिर गोल्यान ग्रुपको बढी लगानी रहेको कम्पनी हो । सञ्चालकको रुपमा यस कम्पनीमा रहेका अन्य व्यक्तिमध्ये केही कुशल सेयर खेलाडी हुन् । यिनै खेलाडीहरुका कारण बजारमा सुनियोजित ढंगले यसको मूल्य बढाइएको देखिन्छ । 

गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण हेर्दा यो कम्पनी कर तिरिसकेपछि पनि २७ करोड ३६ लाखले घाटामा छ। 
कुल १ अर्ब ६७ करोड चुक्तापूँजी भएको यो कम्पनीको मुख्य वित्तीय सूचकमध्ये कुनै पनि सकारात्मक छैनन् । 

चौथो त्रैमाससम्म प्रतिसेयर आम्दानी(इपीएस) १६.३५ रुपैयाँले ऋणात्मक छ । सेयरधनीको सेयरपूँजीकोषको प्रतिफल ०.१६ प्रतिशतले ऋणात्मक छ भने प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ मात्रै छ। 

सिटी होटल लिमीटेड अर्थात हायात प्यालेस कोभिडपछि सञ्चालनमा आएको पहिलो पाँचतारे होटल हो । कम्पनीले ओमिक्रोनका कारण पर्यटन नराम्ररी प्रभावित हुँदा त्यसको प्रभाव वित्तीय विवरणमा पर्न गएको दाबी गरेको छ । 

आर्थिक वर्ष २०७८–७९ को ८ महिनामा १९ करोड ४७ लाख बराबरको कारोबार गरेको यो कम्पनीको गत आर्थिक वर्षमा कारोबार बढेर ५० करोड नाघेको छ । यो सकारात्मक पाटो हो, तर आम्दानीको वृद्धिको तुलनामा कम्पनीको खर्च तथा दायीत्व थेगिनसक्नु छ । दायीत्वको व्यवस्थापन गर्दैमा कम्पनीको केही वर्षको आम्दानी खर्च हुने देखिन्छ । जसले सेयरधनीेले पाउनसक्ने रिटर्न प्रत्यक्ष प्रभावित हुनेछ । 

हाल यो होटलले २०० व्यक्ति हटाउने क्षमता भएको ब्यांक्वेट हाल विस्तार गरी २०८० पुस मसान्तसम्म सम्पन्न गर्ने योजना बनाएको छ । त्यसबाट आम्दानी हुने कम्पनीको अपेक्षा छ । 

यो कम्पनीको लामो अवधिको ऋण मात्रै ३ अर्ब १२ करोड बढी रहेको छ । लिजतर्फको दायीत्व ४ करोड ७६ लाख बढी छ भने अन्य दायीत्व पनि  २ करोड बढी छ । 

यसैगरी ६ करोडभन्दा बढी छोटो अवधिको ऋण छ भने व्यापारतर्फ भुक्तानी गर्नुपर्ने दायीत्व ८ करोड बढी छ । अन्य दायीत्व ३८ करोड माथि रहेको वित्तीय विवरणमा उल्लेख छ ।

यो कम्पनीको वार्षिक कर्मचारी व्यवस्थापन खर्च ९ करोड हाराहारी छ भने करिब १३ करोड सञ्चालन खर्च छ । वार्षिक कुल खर्च ३७ करोड हाराहारीमा रहेको छ । आम्दानी चाहिँ ५० करोड हाराहारी पुगेको छ । 

यसरी हेर्दा कम्पनी गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २७  करोड ३६ लाख रुपैयाँले घाटामा छ । तेश्रो त्रैमाससम्म २१ करोड ६१ लाख रुपैयाँले घाटामा थियो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ करोड ४६ लाख मात्र घाटामा थियो । यसरी हेर्दा कम्पनीले आम्दानी बढाएसँगै घाटा पनि थप्दै गएको देखिन्छ ।