– भक्तराज रसाइली 

काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले यही वर्षदेखि स्मल एन्ड मिडियम इन्टरप्राइजेज (एसएमई) प्लेटफर्म उपलब्ध गराई छुट्टै परिसूचक गणना गर्ने विषयमा अध्ययन थालेको छ। 

बोर्डद्वारा आर्थिक वर्ष २०७६/७७ मा जारी नीति तथा कार्यक्रममा साना तथा मझौला कम्पनीहरुको छुट्टै कारोबार हुने गरी एसएमई इन्डेक्स यही वर्षबाटै लागू गरिने जनाइएको छ। एसएमई इन्डेक्स लागू गर्ने विषयमा अध्ययन भइरहेको धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसी बताउँछन्। एसएमई इन्डेक्सका विषयमा अन्तर्राष्ट्रिय अभ्यास तथा आयामका बारे हाल अध्ययन भइरहेको उल्लेख उनले भने, ‘एसएमई इन्डेक्स लागू हुन्छ।’ 

दोस्रो बजारमा कम आपूर्ति भएका सेयरहरुमा चलखेल गरी सेयरमूल्यमा खेल्ने प्रवृत्तिलाई निरुत्साहित पार्न यस्तो अभ्यास लागू गर्न खोजिएको बोर्डको ठहर छ। कम आपूर्ति भएका सेयरमा मूल्य घटबढ गराउन सजिलो हुने जसको असर सोझै मुख्य इन्डेक्स(नेप्से) मा पर्ने भएकाले इन्डेक्स उत्तारचढावलाई निरुत्साहित गर्ने बोर्डको योजना छ।

ठूला कम्पनीका धेरै सेयर भएका कम्पनीहरुलाई मुख्य इन्डेक्स बनाइने र साना तथा मझौला कम्पनीका थोरै आपूर्ति भएका सेयरलाई सेकेन्डरी इन्डेक्स वा एसएमई प्लेटफर्ममार्फत इन्डेक्स गणना गरिने बोर्डको तयारी छ। यसबाट समग्र सेयर बजारमा स्थिरता र स्थायित्व आउने बोर्डको भनाइ छ।

सर्वसाधारणमा अत्याधिक आपूर्ति भएका सेयरमा ठूलो जोखिम हुने तर कम आपूर्तिमा सेयर घटबढ गर्न सजिलो हुने भएकाले टाठाबाठा लगानीकर्ताले केही करोड रुपैयाँले नै सेयर कर्नरिङ गर्र्दै आइरहेका छन्। तर, बोर्डको यो नयाँ व्यवस्थाले सेयर कर्नरिङलाई समेत निष्तेज पार्न सघाउ पुग्ने जानकार बताउँछन्।