काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले कर प्रणाली र करदाताका समस्या तत्काल समाधान गर्न संयन्त्र निर्माण गर्ने बताएका छन्। 

दसौँं राष्ट्रिय कर दिवसका अवसरमा बुधबार आन्तरिक राजस्व विभाग लाजिम्पाटमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले समस्याको तत्काल समाधान गर्न संयन्त्र बनाइने बताएका हुन्। ‘करदाताहरूको गुनासा सुन्नुपर्छ। यहाँ आइसकेपछि एउटा इकाइ बनाउनुपर्ने आवश्यकता महसुस गरेँ’, उनले भने, ‘तपाइँहरुले भन्नुभएको ‘झ’ झिक्नका लागि एउटा इकाइ÷संयन्त्र बनाउँछु। त्यहाँ तपाइँले गुनासो राख्न पाउनुहुन्छ।’ 

शर्माले कहाँ र के कारणले समस्या भएको भन्ने समस्याको तत्काल समाधानका लागि संयन्त्र बनाउने बताएका हुन्। 

मन्त्री शर्माले चुहावटको सूचना दिनेलाई पुरस्कृत नगरिएको गुनासो आएको उल्लेख गर्दै त्यस्ता सूचना दिनेलाई तत्काल पुरस्कृत गर्न पनि आग्रह गरे। पुरस्कृत नगर्दा सूचना दिन हतोत्साहित हुने गरेको र त्यसले कर संकलनमा समेत असर गरिरहेको भन्दै उनले ‘इन्सेन्टिभ’ दिन छुटेकालाई समेत तत्काल दिन निर्देशन दिए। 

शर्माले जनताले बुझाएको करबाटै सरकारको नेतृत्वकर्ता र कर्मचारीहरु जनताको सेवा गरिरहेको बताए। 

त्यस्तै राजस्व व्यवस्थापनलाई आगामी दिनमा प्रविधियुक्त बनाउँदै करदातामैत्री बनाइने अर्थमन्त्री शर्माले बताए। ‘पेपरलेस’, ‘कन्ट्याक्टलेस’ बनाउने प्रक्रिया थालनी भएको उल्लेख गर्दै उनले सुरुआत गरेर मात्र नहुने भन्दै त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। ‘सकारात्मक कामहरु सुरु हुन्छन्, त्यो राम्रो कुरा हो। तर सम्पन्न हुनुबाट मात्र परिणाम आउँछ’, उनले भने, ‘सुरु गरेरमात्र पुग्दैन। कर दिवसको अवसरमा सम्पन्न गर्ने प्रतिबद्धता यहाँ जनाउँछु।’

कर दिवसमा आयोजित सो कार्यक्रमका अवसरमा मन्त्री शर्माले तीनवटा प्रतिबद्धतासमेत व्यक्त गरे। उनले कर प्रशासनमा हुने झन्झटलाई तत्काल समाधान गर्न इकाइ÷संयन्त्र बनाउने, भन्सारमा ‘भेकल स्क्यानर’ को व्यवस्था गर्ने र स्टिकर सकार आफैँले छाप्ने प्रतिबद्धता गरे। 

यसैगरी अर्थसचिव मधुकुमार मरासिनीले कर जबरजस्ती नभई सुशासन र समृद्धिका लागि स्वेच्छिक राजस्व प्रणाली निर्माण गर्न करदाता र कर प्रशासन मिलेर अघि बढ्नुपर्नेमा जोड दिए। प्रत्येक नागरिकले तिरेको करबाटै राज्यले प्रदान गर्ने सेवा सुविधा उपलब्ध हुने उल्लेख गर्दै उनले सबैलाई करदाता शिक्षा दिनुपर्ने आवश्यकता औँल्याए। 

‘शिक्षा, स्वास्थ्य, सुरक्षालगायतका कुरा हामीले तिरेको करबाट व्यवस्था भएको छ। कतिपयलाई कर सकेसम्म नतिरौँ भन्ने लाग्छ, तिर्न परे पनि कम’, मरासिनीले भने, ‘यो करदाता शिक्षा र करको महत्वबारे हामीले मन्थन र बुझाउनुपर्ने लागेको छ।’

कार्यक्रममा राजस्व सचिव कृष्णहरि पुस्करले कोभिड–१९ महामारीले पुर्याएको ठूलो असरमा पनि करदाताले दिएको राजस्वले मुलुकको अर्थतन्त्रलाई पुनरुत्थानमा टेवा पुगिरहेको भन्दै सबै करदातालाई धन्यवाद दिए। 

कार्यक्रममा क्षेत्रगत उत्कृष्ट तथा सबभन्दा बढी तिर्ने करदता तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो। 

यसैबीच आन्तरिक राजस्व विभागले लक्ष्यको ९५.३२ प्रतिशत लक्ष्य हासिल गरेको बताइएको छ। कार्यक्रममा वार्षिक प्रतिवेदन ०७७÷७८ सार्वजनिक गर्दै विभागले आव ०७७÷७८ मा ४ खर्ब २९ अर्ब २७ करोड राजस्व सङ्कलन गरेको बताएको हो। 

यस्तै २ खर्ब ८७ अर्ब ६ करोड मूल्य अभिवृद्धि कर, २ खर्ब ७७ करोड आयकर तथा १ खर्ब ३४ अर्ब ९ करोड अन्तशुल्क राजस्व संकलन भएको छ।