काठमाण्डौ । नेपाली धितोपत्र बोर्ड (सेबोन)ले आर्थिक वर्ष २०८०–८१ का २४ वटामात्रै बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ। 

सेबोनले आज एक सूचना प्रकाशित गर्दै २४ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको जानकारी गराएको हो। यो हिसाबले अब आस्वा सदस्यता नवीकरण भएका बैंक तथा वित्तीय संस्थाहरुबाट मात्रै लगानीकर्ताले सार्वजनिक निकाष्सन (आईपीओ)का लागि आवेदन दिन पाउनेछन्।

आर्थिक वर्ष २०७९–८०मा भने सेबोनले ४९ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको थियो। मर्जरका कारण यो संख्या घटेपछि ४१–४२ वटा बैंक तथा वित्तीय संस्थाले नै आस्वा सेवा प्रदान गर्दै आएका थिए। यो हिसाबले करिब डेढ बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्य नवीकरण नभएको देखिन्छ। नवीकरण भएका ती बैंक तथा वित्तीय संस्थाहरुमा आबद्ध ठूलो संख्यामा लगानीकर्ताहरु आईपीओ भर्नबाट वञ्चित हुने निश्चित भएको छ। 

यसअघि सेबोनको सम्बन्धित विभागले नयाँ आर्थिक वर्ष सुरु हुनु केही दिन अगाडिबाटै बैंक तथा वित्तीय संस्थाहरुलाई आस्वा सदस्यता नवीकरण गर्न पटकपटक ताकेता गर्दै आएको थियो। ‘तर यसपालिका आस्वा सदस्यता नवीकरणका लागि सेबोनबाटै कमजोरी भएको देखिन्छ’, सेबोन स्रोतले भने, ‘बैंक तथा वित्तीय संस्थाहरुलाई आस्वा सदस्यता नवीकरण गर्नु भनेर सेबोनले नसम्झाउँदा आधाजसोको मात्रै नवीकरण भएको देखिन्छ।’

यसरी ठूलो संख्यामा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण नहुँदा ती संस्थाबाट यो सुविधा लिइरहेका लगानीकर्ताले अब आईपीओ भर्न पाउने कि नपाउने भन्ने प्रश्न पनि उठेको स्रोत बताउँछन्। 

सेबोनका एक उच्च अधिकारीले सेबोनले गरेको व्यवस्थाअनुसार आस्बा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुले नयाँ आर्थिक वर्ष सुरु हुनु १ महिनाअगावै नवीकरणका लागि आवेदन दिनुपर्छ। ‘सायद बाँकी बैंक तथा वित्तीय संस्थाहरुले निवेदन दिनुभएन होला’, ती अधिकारीले भने, ‘अब ती बैंक तथा वित्तीय संस्थाहरुको आस्वा सदस्यता लिन पुनः लाइसेन्स लिनुपर्छ। नवीकरण हुँदैन।’

सेबोनले तोकेको मापदण्ड नपुगेका २–३ वटा बैंकहरुको पनि आस्वा सदस्यता नवीकरण नभएको हुन सक्ने ती अधिकारीले बताए। ‘आस्वा सदस्यता नवीकरण नगरेका बैंक तथा वित्तीय संस्थामा आबद्ध लगानीकर्ताले भोलिबाट आईपीओ भर्न पाउँदैनन्’, ती अधिकारीले भने, ‘तर, लामो समय अवरुद्ध नहोला, १–२ दिनभित्रै ती बैंक तथा वित्तीय संस्थाले पनि नवीकरण गर्लान्।’

आस्वा सेवा नवीकरण गर्न सेबोनले बैंक तथा वित्तीय संस्थासँग वार्षिक २५ हजार रुपैयाँ लिने गरेको छ। 

यस्ता छन् आस्वा सदस्यता नवीकरण भएका बैंक तथा वित्तीय संस्थाहरु