सुर्खेत । कर्णाली प्रदेश उद्योग परिसंघको शुभारम्भ गरिएको छ। 

नेपाल उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले आज सुर्खेतमा कर्णाली प्रदेश उद्योग परिसंघको सचिवालय भवनको उद्घाटन गर्दै प्रदेश परिसंघको शुभारम्भ गरेका हुन्। पूर्णप्रसाद आचार्यको संयोजकत्वमा गठित तदर्थ समितिले प्रदेश परिसंघको विधान निर्माण, दर्ता प्रक्रियालगायत सचिवालय निर्माण गर्दै प्रथम साधारणसभा सम्पन्न गरेको छ।

सभाले छत्रबहादुर शाहीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ। नवगठित कार्यसमितिमा उपाध्यक्षहरु अकल बहादुर शाही, भानुभक्त खड्का, कल्पना बिष्ट तथा पुष्पा शाही रहेका छन्। 

सभामा परिसंघका उपाध्यक्ष अधिकारीले कर्णाली प्रदेश अपार सम्भावना रहेको प्रदेश हुँदाहुँदै पनि विकासमा पछि परेको बताए। उनले कर्णालीमा प्रचुरमात्रामा रहेको जडीबुटी, स्प्रिङ वाटरलाई प्रशोधन गरी अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सके कर्णालीको छिटो विकास हुने बताए। 

कार्यक्रममा परिसंघ प्रदेश तथा जिल्ला समन्वय समितिका सभापति लक्ष्मीप्रसाद सुवेदी, बागमती उद्योग परिसंघका अध्यक्ष भेषराज दुवाडीलगायत सहभागी थिए।