काठमाण्डौ। नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको ६ सदस्यीय प्रतिनिधिमण्डलले आज आन्तरिक राजश्व विभागका नव नियुक्त महानिर्देशक रितेश कुमार शाक्यसँग भेटी आन्तरिक राजश्वसम्बन्धी नीतिगत विषयहरुमा छलफल गरेको छ।

छलफलमा अध्यक्ष थापाले नाडाबाट हरेक वर्ष सञ्चालन हुने तालिम कार्यक्रममा त्यस विभागले गर्दे आएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै नाडाले निकट भविष्यमै ७ वटै प्रदेशमा आयोजना गर्ने करसम्बन्धी तालिम कार्यक्रममा पनि सहयोगका लागि आग्रह गरे। उनले सवारीसाधन बिक्री गर्दा पैठारीकर्ता तथा डिलरहरुले बैंक तथा वित्तीय निकायहरुको अनिश्चितताका कारण मूल्य अभिवृद्धि करको बिल बिजक काटन ढिलाइ हुने र सो समयमा वास्तविक स्टकसमेत नदेखिने कुराको जानकारी गराउँदै सो व्यवहारिक कठिनाइको सहजीकरणका लागि आग्रहसमेत गरे। 

छलफलमा उपाध्यक्ष सुनिल रिजालले स्पेयर पार्टस पैठारीकर्ताहरुले अनिवार्य रुपमा कम्प्युटर बिल जारी गरी उक्त बिलमा एचएस कोडसमेत उल्लेख गरिनु पर्ने भन्दै अटोमोबाइल स्पेयर पार्टसको अनधिकृत आयातको रोकथामका लागि सीमा नाकाहरुलाई कडाइ गरिनुपर्ने धारणा राखे। 

छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतीले अटोमोबाइल व्यवसायीहरुलाई मूल्य अभिवृद्धि करमा अनिवार्य दर्ता गर्नुपर्ने विषयलाई कडाइका साथ लागू गर्ने व्यवस्थाका लागि अनुरोध गर्दै अनलाइन पेमेन्टको व्यवस्थाका लागिसमेत आग्रह गरे। 

महानिर्देशक शाक्यले सिष्टममा सुधार गरिने, खुला सीमा राज्यकै समस्या भएको, सबै करदताहरुका लागि एउटै व्यवस्था गरिने बताए। उनले नाडाले बजेट सुझावमा आवश्यक सबै रायसुझावहरु राखिदिन आग्रहसमेत गरे। 

छलफलमा उपमहानिर्देशक अर्र्जुनप्रसाद भट्टराईले व्यवसायीहरुले बिल बवजकहरु यथासक्य छिटो काट्ने व्यवस्थाका लागि आग्रहसमेत गरे।