– मनिष सोती

काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को हकप्रद सेयर जारी गर्ने प्रोसेस १ वर्ष बितिसक्दासमेत अझै सेयरधनीहरुका लागि खुला हुन सकेको छैन। 

२०७९ भदौ १३ गते कायम चुक्तापुँजी २ अर्ब ६५ करोड रुपैयाँको ८८.४५ प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेको कम्पनीले अझै पनि हकप्रद सेयर बिक्री गर्न नसक्दा सेयरधनीहरु आक्रोशित बनेका छन्। कम्पनीले भने अब हकप्रद निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन पेस गर्ने तयारी भइरहेको जनाएको छ। 

विभिन्न फाइलिङका कामहरु रोकिँदा हकप्रदसम्बन्धी प्रस्ताव सेबोनमा निवेदन पेस गर्न नसकिएको कम्पनीका सचिव सुदर्शन गिरीले बताए। ‘रेटिङको काम अड्एिकाले सेबोनमा प्रस्ताव निवेदन पेस गर्न ढिला भएको हो’, उनले भने, ‘डकुमेन्ट पूरा गर्ने सबै कामहरु फाइनल भइसक्यो। अब २–३ दिनमै सेबोनमा हकप्रद सेयर निष्कासनसम्बन्धी निवेदन पेस गर्नेछौँ।’ 

यसअघि नेपाल बीमा प्राधिकरणले कम्पनीलाई हकप्रद सेयर जारी गर्न सैद्धान्तिक सहमति दिए पनि अन्तिम स्वीकृति प्रदान गरेको थिएन। ‘हकप्रद सेयर जारी गर्न कम्पनीको प्रबन्धपत्र नियमावली संशोधन गर्नुपर्ने भएकोले प्राधिकरणले यसमा रोक लगाएको थियो’, गिरीले भने, ‘प्राधिकरणबाट पनि सोसम्बन्धी डकुमेन्ट सबै पारित भइसकेको छ र रेटिङको कामसमेत सकिएर अब सेबोनमा निवेदन पेस गर्ने तयारी रहेको छ।’ 

यसका साथै सेबोनबाट हकप्रद निष्कासनको अनुमति चाँडै नै प्राप्त गरी सेयरधनीमा सेयर बिक्री खुला गरिने गिरीले जानकारी दिए। 

कम्पनीले गत वर्ष भदौ १३ गते चुक्तापुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँको ८८.४५ प्रतिशतले हुने अर्थात् १ः०.८८ रेसियोले हुन आउने २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँबराबरको हकप्रद जारी गर्ने प्रस्ताव नेपाल बीमा प्राधिकरणमा पेस गरेको थियो। 

प्राधिकरणले गत वर्ष पुस २२ गते कम्पनीलाई साधारणसभामार्फत हकप्रद निष्कासनको प्रस्ताव पारित भएबमोजिम हकप्रद जारी गर्न सैद्धान्तिक सहमति दिएको थियो। प्राधिकरणबाट गत वर्ष नै हकप्रद गर्ने सैद्धान्तिक सहमति भए पनि कम्पनीले प्रबन्धपत्र नियमावली संशोधन नगरेकाले हकप्रद निष्कासनको प्रक्रिया रोकिएको थियो। 

प्राधिकरणले गत वर्ष जीवन बीमा कम्पनीहरुलाई ५ अर्ब चुक्तापुँजी पुर्याउन निर्देशन दिएबमोजिम एलआईसी नेपालले हकप्रदको बाटो रोजेको थियो। कम्पनीले ८८ प्रतिशत हकप्रद जारी गर्न सेबोनबाट अनुमति पाएमा कम्पनीको चुक्तापुँजी ५ अर्ब पुग्नेछ। 

कम्पनीले २ वर्षयता आफ्ना सेयरधनीहरुको हातसमेत रितो बनाउँदै आइरहेको छ। एलआइसी नेपालले आर्थिक वर्ष २०७७–७८ मा सेयरधनीलाई कुनै खालको लाभांश बाँडेको थिएन भने आर्थिक वर्ष २०७८–७९ मा समेत लाभांश वितरण नगर्ने निर्णय गरेको छ। 

हकप्रद निष्कासनबाटै बीमा प्राधिकरणले तोकेको न्यूनतम ५ अर्ब चुक्तापुँजी पुर्याउन रणनीति रहेको कम्पनीले जनाएको छ।