काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर साउनको पहिलो साताको कारोबारमा ल्याउने तयारी गरिएको छ। 

जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जयकुमार मण्डलले आगामी साउनको पहिलो सातादेखि सेयर कारोबारमा ल्याउनका लागि आवश्यक प्रक्रियाहरु गरिरहेको बताए। ‘सेयरसम्बन्धी सम्पूर्ण गतिविधि गर्नका लागि सेयर रजिस्ट्रारमा एनएमबी क्यापिटललाई नै नियुक्त गरिएको छ’, उनले भने। 

एनएमबी क्यापिटलले पनि जीवन विकास लघुवित्तको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकरण गर्नका लागि आवश्यक कागजी प्रक्रिया सबै सकिने लागेको जनाएको छ। छिटै नेप्सेमा सबै कागजपत्र पेस गरी सेयर सूचीकरण गरी साउनको पहिलो साताबाटै कारोबारमा आउन सक्ने क्यापिटलले जनाएको। 

क्यापिटलका एक अधिकारीले नेप्सेमा धरै समय नलागे पहिलो साताबाटै जीवन विकास लघुवित्तको सेयर कारोबारमा आउनेछ। 

सूचीकरणसँगै नेप्सेले जीवन विकास लघुवित्तको पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम प्रतिकित्ता ३०५.२७ रुपैयाँ र अधिकतम ९१५.८१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोक्न सक्नेछ। 

यो लघुवित्तले गत असार ११ गतेदेखि असार १५ गतेसम्म १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ बिक्री गरेको थियो। आईपीओको बाँडफाँड गत असार २३ गते गरिएको थियो।