काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। 

नगरसभाको बैठकमा आइतबार उपमेयर सुनीता डंगोलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेकी हुन्। कुल बजेटमा चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार रुपैयाँ (३३.७२%) र पुँजीगततर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रुपैयाँ (६६.२८%) विनियोजन गरिएको छ। 

काठमाण्डौ महानगरपालिकाको बजेटको सबैभन्दा ठूलो स्रोत बैंक मौज्दात रहेको छ । महानगरको बैंक मौज्दान ११ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख रुपैयाँ, निसर्त अनुदान ८९ करोड ३६ लाख रुपैयाँ, आन्तरिक आय ६ अर्ब ३९ करोड रुपैयाँ, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रुपैयाँ र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रुपैयाँ प्राप्त हुने डंगोलले जानकारी दिइन्।

महानगरपालिकाले १० विषयगत क्षेत्रका महानगर गौरवको योजनाका लागि ३ अर्ब ८० करोड रुपैयाँ र महानगर स्वर्णिम योजनाअन्तर्गत २५ वटा विषयगत क्षेत्रका योजनाका लागि २ अर्ब विनियोजन गरेको छ।

बजेटमार्फत काठमाण्डौ महानगरभित्रका सामुदायिक विद्यालयका शिक्षकहरुले मासिक तलब पाउने व्यवस्था गरिएको छ। त्यसका लागि ३० करोड रुपैयाँको सोधभर्ना कोष खडा गरिएको उपमेयर डंगोलले बताइन्। 

हाल शिक्षकहरुले चौमासिक रुपमा तलब बुझ्दै आएका छन्।