काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले सवारी पार्किङ शुल्क निर्धारण गरेको छ। 

महानगरपालिकाले दुईपांग्रे र चारपांग्रे सवारीसाधनका लागि पार्किङ शुल्क निर्धारण गरेको हो। जसअनुसार दुईपांग्रे सवारीको आधा घन्टाको पार्किङ शुल्क १५ रुपैयाँ र १ घन्टाको २५ रुपैयाँ निर्धारण गरिएको छ। १ घन्टाभन्दा बढी थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५–५ रुपैयाँका दरले शुल्क थप गरिने व्यवस्था महानगरपालिकाले जनाएको छ। 

पार्किङ शुल्कका हकमा चारपांग्रे सवारीले आधा घन्टाका लागि ४० रुपैयाँ र १ घन्टाका लागि ७५ रुपैयाँ तिनुपर्ने नियम महानगरले गरेको छ। चारपांग्रेका हकमा भने थप हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने व्यवस्था महानगरले गरेको छ। 

काठमाण्डौ नगरक्षेत्रभित्र पार्किङ शुल्कमा एकरुपता ल्याउने नयाँ शुल्क निर्धारण गरिएको महानगरले स्पष्ट पारेको छ। तोकेको शुल्कभन्दा बढी लिएमा जानकारी गराउन पनि सर्वसाधारणलाई महानगरले अपिल गरेको छ। 

यसैबीच काठमाण्डौ महानगरभित्रका व्यावसायिक भवनहरु (निजी मार्ट, रेस्टुरेन्ट, सपिङ कम्प्लेक्स, मल), अस्पताललगायत स्वास्थ्य सेवा प्रदायक संस्थाहरुले सेवाग्राहीलाई निःशुल्क पार्किङ सेवा उपलब्ध गराउनुपर्ने भएको छ।

महानगरपालिकाको आर्थिक ऐन २०८० ले यस्तो व्यवस्था गरेको हो। बहुतले आवासीय वा व्यावसायिक भवनहरुमा रहेका÷भएका व्यवसाय र सेवा प्रदायकलाई सम्बद्ध सेवाग्राहीसँग सवारीसाधन पार्किङबापतको शुल्क संकलन गर्न निषेध गरिएको छ। सेवाग्राहीबाहेक अन्यसँग मात्र पार्किङ शुल्क लिन सकिने महानगरले जनाएको छ। 

व्यावसायिक रुपमा सवारीसाधन पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोजनका लागि प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट हुनेछ व्यवस्था पनि महानगरले गरेको छ। पार्किङ प्रयोजन देखाई नक्सा स्वीकृत गरेका भवनको पार्किङ क्षेत्रलाई अन्य प्रयोजनमा प्रयोग गरेकाको हकमा भने महानगरले प्रचलित कानुन र निर्णयबमोजिम कारवाही गर्नेछ। यस्ता स्थानबाट सम्पत्ति करसहित सम्बन्धित अन्य कर असुल गरिने महानगरले जनाएको छ।

सार्वजनिक सडकहरुमा सवारीसाधन पार्किङ सञ्चालन गर्न अनुमति नदिइने महानगरले जनाएको छ।