काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले तोकिएको अवधिभित्रै विभिन्न नियमित र व्यवसाय कर तिरेमा छुट उपलब्ध गराउने भएको छ। 

महानगरपालिकाको राजस्व विभागले आज सूचना जारी गर्दै यस्तो जानकारी गराएका हो। महानगरले तीर्न/बुझाउनपर्ने सम्पत्ति कर/बहाल कर/व्यवसाय कर आउँदो पुस मसान्तसम्म तिरेमा चालु आर्थिक वर्षको कर रकमको १० प्रतिशत छुट हुने जनाएको छ। 

त्यस्तै महानगर क्षेत्रभित्र सञ्चालन भएका होटेल, रिसोर्ट वा चलचित्र घरको नाममा घरजग्गा भई वा भाडामा लिएर होटेल, रिसोर्ट वा चलचित्र घर निर्माण गरी सञ्चालन गरेको करदाताको हकमा बक्यौतासहितको सम्पत्ति कर चालु आर्थिक वर्षको पुस मसान्तभित्र चुक्ता गरेमा थप ३० प्रतिशत छुट दिइने सूचनामा उल्लेख छ। 

व्यावसायिक रुपमा गाडीको पार्किङ प्रयोजनका लागि भवन निर्माण गरेमा भवन निर्माण सम्पन्न भएको मितिले पार्किङ प्रयोग हुने क्षेत्रको १० वर्षसम्म सम्पत्ति कर छुट दिने सुविधा पनि महानगरले ल्याएको छ। 

यसैगरी ‘एक वडा, एक नमूना उद्यम’ कार्यक्रमअन्तर्गत सञ्चालित उद्योग वा व्यवसायको दर्ता भएको ३ वर्षसम्म बुझाउन पर्ने व्यवसाय कर र दर्ता शुल्कको कर ९५ प्रतिशत छुटको व्यवस्था महानगरले गरेको छ। 

महानगरका अनुसार चालु आर्थिक वर्षमा करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाति, दलित, अपांगता भएका र ३५ वर्षभन्दा कम उमेरका युवाका नाममा दर्ता भई सञ्चालनमा रहेका रु. ५ लाखसम्म पुँजीगत लगानी भएका उद्योग, व्यवसाय, कम्पनी, संस्थाले २०८० पुस मसान्तभित्र कर दाखिला गरेमा जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर दाखिला गर्ने करदाताका हकमा करको रकम २५ प्रतिशत छुट हुनेछ। ‘तर, यसमा काठमाण्डौ महानगरपालिकामा स्थायी बसोबास भएका व्यक्तिलाई करमा ५० प्रतिशत छुट हुनेछ’, सूचनामा भनिएको छ।