– प्रकाश न्यौपाने
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले लाभांश घोषणासम्बन्धी निर्णयको सूचना कारोबार समयमा पठाएको भन्दै साल्ट ट्रेडिङ कर्पोरेसन (एसटीसी)को गत पुस २८ गते स्पष्टीकरण सोध्दै सेयर कारोबार रोक्का गर्यो। एसटीसीले जबाफ पठाएपछि माघ ३ गते नेप्सेले सेयर कारोबार फुकुवा गर्ने निर्णय गर्यो।
नेप्सेले गत माघ २६ गते ढिला गरी लाभांश घोषणासम्बन्धी सूचना पठाएको भन्दै विजय लघुवित्त वित्तीय संस्थाको पनि सेयर कारोबार रोक्का गरेर चित्तबुझ्दो जबाफ पठाएपछि फागुन २ गते फुकुवा गरिएको थियो।
यी त उदाहरणमात्र हुन्। नेप्सेले कारोबार समयमा सूचना पठाउने र ढिला गरी सूचना पठाउने गरेकोले धितोपत्र मूल्यमा प्रभाव पारेको भन्दै धेरै कम्पनीको सेयर कारोबार पटक–पटक रोक्का गर्ने गर्छ। धितोपत्र सूचीकरण विनियमावलीमा त्यस्ता सूचनाहरु कारोबार समयअघि वा पछि पठाउनुपर्ने व्यवस्था छ।
यसरी नेप्सेले कारबाहीस्वरुप सेयर रोक्का गर्ने र लामो समयपछि मात्रै फुकुवा हुने गर्ने गरेको उदाहरण पनि धेरै छन्। नेप्सेले नियम मिचेको भन्दै पटक–पटक कम्पनीहरुका सेयर कारोबार रोक्का गर्ने तर पछि सामान्य सचेत गराएरमात्रै कारबाही फुकुवा गर्ने परिपाटीले भने आमलगानीकर्ता मर्कामा पर्दै आएका छन्।
नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार कारोबार समयमा वा कुनै पनि समयमा बजारलाई प्रभाव पारेर धेरै तल–माथि पार्ने उद्देश्य राखेर ल्याइने सूचनाहरुले बजारको आफ्नो प्राकृतिक बाटो बिगारिदिने गरेको बताउँछन्। ‘कारोबार समयमा बजारलाई प्रभावित पार्ने गरी हकप्रद, लाभांश घोषणाजस्ता सूचना स्वयं कम्पनीले प्रकाशित गर्ने गरेको र त्यस्ता गलत कामको कारबाहीको नाममा नेप्सेले कारोबार रोक्का गर्दा लगानीकर्ताको सम्पत्ति बन्धक बनाउने काम भइरहेको छ’, रौनियारले भने, ‘धान खाने मुसो, चोट पाउने बिरालोजस्तै भएको छ।’
यस्तो कामले लगानीकर्तालाई ठूलो क्षति पुग्ने गरेको रौनियार बताउँछन्। ‘सेयर कारोबार रोक्का गर्नुभन्दा सम्बन्धित संस्था र पधाधिकारीलाई फेरि पनि त्यस्ता गल्ती गर्ने आँट गर्न नसक्ने खालको कारबाही गर्नुपर्छ’, उनले भने, ‘त्यस्ता गल्तीबाट लगानीकर्तालाई क्षति व्यहोर्नुपर्ने भएकोले त्यस्ता कम्पनी वा कम्पनीका पदाधिकारीबाट क्षतिपूर्ति भराउनुपर्छ।’
सक्रिय लगानीकर्ता प्रकाश बस्नेत पनि कम्पनीका कर्मचारीले गरेको गल्तीले लगानीकर्ताको सम्पत्तिमा रोक लगाउनु उचित नरहेको बताउँछन्। ‘धितोपत्रसम्बन्धी ऐन–नियम नै फितलो भएकोले लगानीकर्ता मारमा पर्दै आएका छन्’, उनले भने, ‘त्यसैले कडा ऐन–नियम ल्याएर यस्ता अनुचित गतिविधि रोक्नुपर्छ र गल्ती गर्नेहरुबाट लगानीकर्तालाई क्षतिपूर्ति दिलाउने व्यवस्था गर्नुपर्छ।’
नेप्सेका एक अधिकारी पनि कमजोर ऐन–कानुनको व्यवस्थाले गर्दा त्यस्ता गतिविधि गर्ने कम्पनीहरुको सेयर कारोबार रोकेर कारबाही गर्नुबाहेक अरु विकल्प नरहेको बताउँछन्। ‘धितोपत्र सूचीकरण विनियमावलीमा कारोबार समयमा वा ढिला गरी सूचना पठाउने कम्पनीमाथि जरिवाना वा दण्डको व्यवस्था छैन’, ती अधिकारीले भने, ‘त्यसैले संगठित संस्थाहरुले पटक–पटक भुलवश वा जानी–जानी त्यस्ता गल्ती गर्दै आएका छन्।’
ऐन–नियम बनाउने जिम्मेवारी नेपाल धितोपत्र बोर्ड (सेबोन)को भएकोले बेलैमा ऐन–नियम परिमार्जन नगरेसम्म त्यस्ता गतिविधि रोकिने सम्भावना कम रहेको ती अधिकारीले बताए।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19