काठमाण्डौ । साताको अन्तिम कारोबार दिन बिहीबार पूँजीबजारमा १.३६ अंकको सामान्य करेक्सन भई नेप्से परिसूचक १७२३.२३ अंकमा ओर्लिएको छ । 

समग्र परिसूचक तल ओर्लिए पनि बिहीबार समेत बिमा कम्पनीका लगानीकर्ताहरुले कमाएका छन् । वाणिज्य बैंक ओरालो लागेको छ भने विकास बैंकको सूचकमा उत्साहजनक बढोत्तरी देखिएको छ । 

बिहीबार सबैभन्दा धेरै बिमा समूहको परिसूचक ६८.६७ अंकले उक्लिएको छ । बिमा समूहलाई विकास बैंकले पछ्याएको छ, यो समूहको परिसूचक ३७.३९ अंकले उक्लिएको छ । 

बित्त समूह ६.६१ र अन्य समूह ३.५३ अंकले उकालो लागेका छन् । 

बाँकी सबै समूहको सूचकमा गिरावट देखिएको छ । सबैभन्दा बढी जलविद्युत समूहको सूचक घटेको छ । यो समूहको सूचक २४.१९ अंकले घटेकोे छ भने वाणिज्य बैंक समूह १३.७३ अंकले ओर्लिएको छ । 

उत्पादमूलक ९.९७ अंकले घट्दा होटल समूह ३.११ अंकले झरेको छ । 

बुधबारको तुलनामा नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बिहीबार बढेको छ । दिनभरि १ सय ४२ कम्पनीका २३ लाख २७ हजार कित्ता सेयर १ अर्ब ७५ करोड ४४ लाख रुपैयाँमा किनबेच भयो । 

नेपाल धितोपत्र बोर्डले बिहीबार मात्र कारोबार फुकुवा गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा लगानीकर्ताको भीड देखिएको छ । यो कम्पनीले एकैदिन १८ करोड २४ लाखको कारोबार गर्यो । 

नागबेली लघुवित्त विकास बैंक लिमीटेडले ९ करोड बढीको कारोबार गर्यो भने राष्टिय विमा कम्पनी लिमीटेडको ८ करोड ५ लाख बराबरको प्रोमोटर सेयर किनबेच भयो । मेगा बैंकले ६ करोड १७ लाख र नेपाल इन्स्योरेन्सले ६ करोड ४ लाख बराबरको सेयर कारोबार गरे । 

रुरल माइक्रो फाइनान्स र फस्ट माइक्रो फाइनान्स डेभलपमेन्ट बैंक समेत बिहीबार उत्कृष्ट कारोबार गर्ने मुख्य १० कम्पनीको सूचिमा पर्न सफल भए । नेपाल राष्टबैंकले लघुवित्त कम्पनीहरुको पूँजी वृद्धिको तयारी गरिरहेको समाचारका कारण यस्ता कम्पनीको सेयरमा समेत लगानीकर्ताको आकर्षण देखिएको छ । 

बिहीबार उत्कृष्ट कारोबार गर्ने १० कम्पनीको सूचिमा वाणिज्य बैंक २ स्थनामा सीमित बन्न पुगेको छ । ५ स्थानमा इन्स्योरेन्स कम्पनीकै होल्ड रह्यो ।