काठमाण्डौ । लामो समयसम्म मर्जर र एक्वीजिसनमा रहेका कारण सेयर कारोबार निलम्बनमा परेका कम्पनीहरुमा आकर्षण बढेसँगै सोमबार पूँजीबजार हराभरा भएको छ । 

लामो समयसम्म कारोबार निलम्बन भई हालसालैदेखि फुकुवा पाएका कम्पनीहरुमा लगानीकर्ता थुप्रिएका हुन् । 

लगानीकर्ताहरुको सेयरमा परेको खरीदको चापका कारण सोमबार सेयर बजार परिसूचक १६.६२ अंकले बढ्दै १७८०.४० को उचाईमा पुगेको छ । 

कारोबार रकम आइतबारको तुलनामा कम भए पनि इण्डेक्समा व्यापक सुधार भएको हो ।सेयरबजारको आइतबार र सोमबारको प्रस्तुतीले पूँजीबजामा पनि दशैंको रौनक भित्रिएको लगानीकर्ताको भनाई छ । 

सोमबार पनि आइतबार झै वाणिज्य बैंक र बिमामै लगानीकर्ताहरुको थुप्रो लाग्यो । सोमबार विकास बैंक समूहमा समेत आकर्षण देखियो । 

सबैभन्दा बढी विमा समूह १३५.४५ अंकले उक्लियो भने बित्त समूह ९.९६(१.२१ प्रतिशत), होटल समूह २७.०९(१.२१ प्रतिशत)ले उकालो लागे । वाणिज्य बैंकमा १७.०८(१.०६) प्रतिशतको बढोत्तरी देखियो भने विकास बैंकमा १०.९४, जलविद्युत समूह ५.७८, उत्पादनमूलक ७.०२ अंकले उक्लिए । सबै समूहमा हरियो पोतिँदा अन्य समूह चाहि १.७४ अंकले घट्यो । 

'क'वर्गका कम्पनीको कारोबार चम्किएका कारण सेन्सेटिभ इण्डेक्स ३.६६ अंकले बढ्यो भने फ्लोट इण्डेक्समा पनि १.४१ अंकको बढोत्तरी देखियो । 

सोमबार कुल १३६ कम्पनीको ८ लाख ९६ हजार ४१ कित्ता सेयर ७९ करोड ३ लाख रुपैयाँमा किनबेच भयो । 
धेरै कारोबार गर्ने कम्पनी
सोमबार सबैभन्दा बढी करिब ३८ करोड बराबरको कारोबार वाणिज्य बैंकहरुले गरे । २४ करोड बढीको कारोबार बिमा समूहले गर्दा विकास बैंक समूहले पनि १० करोड बढीको कारोबार गर्यो । 

विगतमा निरन्तर टप फाइभमा पर्दै आएको एनबी बैंकमा सोमबार अनपेक्षित आकर्र्षण देखियो । यो बैंकले मात्रै १४ करोड १३ लाख बराबरको कारोबार गर्यो । शिखर इन्स्योरेन्सले ८ करोड ४७ लाख, एभरेष्ट बैंकले ६ करोड ७१ लाख, नेशनल लाइफ इन्स्योरेन्सले २ करोड ७३ लाख, नेपाल लाइफले २ करोड ६६ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले २ करोड २१ लाखको कारोबार गरे । सिद्धार्थ बैंकको २ करोड ५ लाख, मुक्तिनाथ विकास बैंकको १ करोड ५८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ५५ लाख र सेवा विकास बैंकको १ करोड ५४ लाखको कारोबार भयो । सेवा विकास बैंकले आफ्ना सेयरधनीलाई बोनस दिने घोषणा सोमबार मात्रै गरेको थियो । 

धेरै कमाउने र गुमाउने
बुलिस बजारमा सोमबार ४ कम्पनीले पैसा छापे र लगानीकर्ता मालामाल भए । हालै मात्र कारोबार फुकुवा भएको प्रभू बैंक, बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेड, ज्योति विकास बैंक र कुमारी बैंक लिमीटेडको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । महिला सहयात्रा माइक्रोफाइनान्स बित्तीय संस्थाका लगानीकर्ताले पनि राम्रो कमाए । 

बुलिस बजारमा नमस्ते बित्तीय संस्था लिमीटेडले सोमबार पनि ६ .४५ प्रतिशतले सम्पत्ति गुमाउनु पर्यो । मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकको सेयर मूल्यमा ५.१४ प्रतिशतको गिरावट आउँदा मनास्लु विकास बैंक, आइएलएफसी माइक्रोफाइनान्सका लगानीकर्ताले पनि ४ प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाउन पुगे ।