काठमाण्डौ । लाभांश घोषणाको लहर, वाणिज्य बैंकबीच सस्तो दर र छिटो मार्जिन लोन उपलब्ध गराउने होडबाजी, बैंकहरुबाट भएको ब्याजदर घटाउने प्रयास, प्रशस्त तरलता लगायतका कारणले बजारमा उत्साह छाएको छ । 

बजारमा तीव्र सुधार हुने चौतर्फी अनुमान भइरहेको बेला बजारका प्राविधिक विज्ञ तथा फण्डमेन्टल्ली विश्लेषण गर्नेहरुले समेत बजार बढ्छ भनी लगानीकर्तामा मनोबल बलियो बनाइदिने काम गरेपछि लामो समयसम्म ‘पर्ख र हेर’को अवस्थामा रहेकाहरु पनि बजारमा प्रवेश गर्न थालेका छन् ।

ठूला भनिएका संस्थागत लगानीकर्ता समेत सस्तोमा राम्रो कम्पनीको सेयर खरीद गर्ने होडबाजीमा देखिएका छन् । 

बजारमा कारोबार रकम बुम भएसँगै आगामी दिनमा लगानीकर्ताको मनोबल अझै बढ्ने र बजारले उचाई लिँदै जाने अनुमान लगाउन सकिन्छ । बजार परिसूचक र कारोबार रकम समानान्तर ढंगले बढेमा त्यसले सुखद भविष्यको संकेत गर्ने विश्लेषक बताउँछन् । बजारमा केही दिनदेखि यही प्रवृति देखिएकोले समेत बुलिस ट्रेण्ड सुरु भएको मान्नेहरुको समेत कमी छैन । 

यी र यिनै कारणले बजार साताको पहिलो दिन दोहोरो अंकले बढेको हो । कारोबार अवधिमा नेप्से परिसूचक २६ अंकसम्मले बढे पनि यही बेला सर्टटर्म कारोबारी समेत सक्रिय भएपछि बन्द हुँदासम्म ११.६९ अंकको मात्र बढोत्तरी कायम रह्यो । नेप्से परिसूचक १२५६.५३ को विन्दूमा पुग्दा लगानीकर्ताहरुले ‘क’ वर्गका कम्पनी खरीदमा होडबाजी नै गरेको देखियो । यहीकारण सेन्सेटिभ इण्डेक्समा २.६६ अंकले बढ्यो । यस्तै, समग्र कारोबार मापक फ्लोट इण्डेक्समा पनि १.०८ अंकको वृद्धि देखियो ।

यो दिन बजारका सबै समूहमा हरियाली छायो । बैंकिंग समूह १३.७१ अंकले बढ्यो भने विकास बैंक समूहमा २०.८९ अंकको बढोत्तरी देखियो । यस्तै, जीवन बिमा समूह ४८.५, निर्जीवन बिमा समूह २०.१८, होटल समूह ४.३५, जलविद्युत समूह ६.५४, बित्त समूह ३.११, उत्पादनमूलक २६.५१, माइक्रोफाइनान्स समूह ८.३१ र अन्य समूह ०.५४ अंकले बढे । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६६ कम्पनीका ३० लाख ७० हजार २ सय ३१ कित्ता सेयर ९१ करोड ५२ लाख ९२ हजार २ सय ४ रुपैयाँमा किनबेच भयो । 

यो दिन सबैभन्दा बढी एनएमबी बैंकले ७ करोड १४ लाख बढीको कारोबार गर्यो । नेपाल बैंकले ४ करोड ८७ लाख, कुमारी बैंकले ४ करोड ३६ लाख, एनसीसी बैंकले पनि ४ करोड ३६ लाख, जनता बैंकले ४ करोड २९ लाख बढीको कारोबार गरेको बजारमा एनआइसी एशिया बैंकले ३ करोड ६२ लाख, प्रभू बैंकले ३ करोड ६१ लाख, प्राइम कमर्सियल बैंकले ३ करोड ५७ लाख, सिभिल बैंकले २ करोड ८० लाख र ग्लोबल आइएमई बैंकले २ करोड १७ लाख बढीको कारोबार गर्यो ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन भार्गव विकास बैंकका सेयरधनीले सबैभन्दा धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९.५२ प्रतिशतले वृद्धि भयो । नेरुडे लघुवित्तको मूल्य ६.७२ प्रतिशतले बढ्यो भने मितेरी डेभलपमेन्ट बैंकको सेयर मूल्य ६.६४ प्रतिशतले वृद्धि भयो ।

यो दिन एक्सेल डेभलपमेन्ट बैंक र तारागाउँ रिजेन्सी होटलको मूल्यमा सबैभन्दा धेरै गिरावट आयो । यी दुवै बैंकको सेयर मूल्य ४ प्रतिशतको हाराहारीमा घट्यो ।