काठमाण्डौ । दोश्रो बजारको अवस्था झनै प्यानिक बन्न थालेको छ । नेप्से परिसूचकमा आइरहेको निरन्तरको गिरावटसँगै अब बजारलाई कारोबार रकमले समेत साथ छाड्न थालेको छ । यसले बजारमा चिन्ता र त्रासको अवस्था सिर्जना गरिदिएको छ । 

पछिल्लो समय लगानीकर्ताहरु दशैं खर्च जोहो गर्ने नाममा समेत सेयर बिक्री गरिरहेका छन् । यो प्रवृतिले समेत बजार घटाउन सहयोग गरिरहेको जानकार बताउँछन् ।

बजारमा लंग टर्म लगानीकर्ताको अभाव हुनु वा भए पनि न्यून संख्यामा रहनु र सर्टटर्म कारोबारी हाबी भएका कारण दशैं खर्च जुटाउने जस्ता साना साना बाहानामा पनि बजार घट्ने गरेको विज्ञ बताउँछन् । उनीहरुका अनुसार दशैं प्रभाव बजारमा सामान्य रुपमा परे पनि कारोबार रकममा पहिरो गई निकै न्यून विन्दूमा पुग्नुले चिन्ता बढाइदिएको छ । यो संकेत राम्रो होइन । बजारका जानकार भन्छन्–‘यसले नेपालको सेयर बजार अझै चौपट हुने बाटोमा अग्रसर त छैन ? भन्ने देखाउँछ । 

कतिपय विज्ञ तथा बजार विश्लेषकले भने नेप्से घटेर न्यून विन्दूमा झर्नु नै लगानीको उपयुक्त अवसर रहेको भन्दै बलिया र राम्रा कम्पनीको सेयर सस्तोमै उठाउने अवसर नगुमाउन लगानीकर्ताहरुलाई आग्रह गरेका छन् । तर, लगानीकर्ताहरु भने आफूहरुसँग लगानी गर्ने थप रकम नभएको, बैंकले समेत सहजै ऋण दिन छाडेको र ऋण लिएकाहरुलाई समेत मार्जिन कलको दवाब रहेको भन्दै लगानी नबढाउने पक्षमा छन् । 

हाल लगानी गरिरहेका लगानीकर्ताहरुका यस्ता अप्ठ्यारा तथा बाध्यता रहे पनि नयाँ लगानीकर्ताहरुका लागि भने अहिलेको बजार लगानी थाल्ने स्वर्णिम अवसर हो । साथमा लगानीयोग्य रकम हुनेहरुले न्यून विन्दूमा पुगेको बजारमा लगानी गर्न सके लंगटर्ममा यसले राम्रो रिटर्न दिनसक्ने देखिन्छ । 

बुधबार कारोबार रकम घटेर १६ करोड ६९ लाखमा सीमित भएको दिन नेप्से परिसूचक भने ३.०३ अंकले घटेको छ । 

यो दिन राम्रा र बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ इण्डेक्समा ०.७१ अंकको तथा समग्र कारोबार मापक फ्लोट इण्डेक्स ०.२६ अंकले घटेका छन् । 
यो दिन माइक्रोफाइनान्स समूह ०.८ अंकले बढेको छ भने अन्य समूहमा ३.१९ अंकको वृद्धि देखिएको छ । बाँकी सबै समूहका सूचक घटेका छन् ।

बैंकिङ समूह ४.८३ अंकले घटेको यो दिन विकास बैंक समूहमा ३.२९ अंक, बित्त समूहमा ३.४८ अंक, होटल समूहमा २.२९ अंक, व्यापार समूहमा २.३७ अंक, जलविद्युत समूहमा १.४५ अंक, निर्जीवन बिमा समूहमा २२.४४ अंक, जीवन बिमा समूहमा ३.०८ अंक र म्युचुअल फण्ड समूहमा ०.१ अंकको गिरावट आएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६६ कम्पनीका ७ लाख ७७ हजार ७३५ कित्ता सेयर १६ करोड ६९ लाख २१ हजार ७९९ रुपैयाँमा कारोबार भएको छ । 

यो दिन कुनै पनि कम्पनीको कारोबार १ करोड पुगेन । सानिमा बैंकले सबैभन्दा बढी ८६ लाख बढीको कारोबार गरेको छ भने नेपाल बैंकले ८३ लाख, प्रभू बैंकले ६८ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ५९ लाख, एनआइसी एशिया बैंके ५८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकले ५७ लाख, बैंक अफ काठमाण्डूले ५१ लाख, कृषि विकास बैंकले ४८ लाख, शिवम सिमेन्टले पनि ४८ लाख र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४६ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ९.४३ प्रतिशतले बढेको छ । 

तिनाउ मिसन डेभलपमेन्ट बैंकका सेयर मूल्यमा सबैभन्दा धेरै गिरावट आयो । यो कम्पनीको मूल्यमा ७ प्रतिशतको हाराहारीमा गिरावट आयो ।