काठमाण्डौ । पूँजीबजारका समस्याहरुको विषयमा नियामक निकायहरुले नजरअन्दाज गर्दा सेयर लगानीकर्ताहरुको विश्वास र मनोविज्ञानमा सकारात्मक छाप पर्न सकेको छैन ।

हाल ११ सय ४० को परिधिभित्रै नेप्से घुमिरहेको छ । नेप्से स्थिरप्रायः बनेर कारोबार रकम कम हुनुले बजार माथि जानलाई बल गरिरहेको रुपमा बुझ्न सकिने विश्लेषकहरु दाबी गर्छन् । बजार लयमा फर्किने भरपर्दो आधार नदेख्दा लगानीकर्ताहरु सेयर खरिदबिक्रीमा खासै सक्रिय छैनन् ।

हाल दैनिक २० करोड रुपैयाँको परिधिभित्र भएको सेयर कारोबार नै प्राकृतिक भएको जानकार बताउँछन् । हाल बजारबाट सर्टटर्म मुनाफा आर्जन गर्नभन्दा पनि लगानीकर्ताहरुले दुई–तीन महिनाका लागि होल्ड गर्ने मनासयले खरिदमा संलग्न छन् भने सेयरमूल्य बढ्ला कि भन्ने लोभले पनि सेयरहरु होल्ड भइरहेको जानकारहरुको भनाइ छ ।

सरकार र नियामक निकायहरुले पुँजीबजारलाई तत्कालै खास सम्बोधन हुने खालका समाचारमा आँखा टोलाइरहेका कारणले पनि सेयर बिक्रीकर्ता र खरिदकर्तामा आश पलाइरहेको छ । कम रकम कारोबार हुनुले बजारले गति समात्ला भन्ने रणनीति लगानीकर्ताहरुको देखिने जानकारको भनाई छ ।

ताको चौथो दिन बुधबार नेप्से सूचकांक हिजोको तुलनामा १.८९ अंकले गिरावट भई ११ सय ३७.५६ अंकमा झरेको छ ।

यो दिन नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये १५२ कम्पनीका ६ लाख २९ हजार ४ सय ७९ सेयर कारोबार भएकोमा रु १७ करोड २८ लाख ४२ हजार ६ सय ८७ रकममै सीमित भयो ।

नेप्सेको १२ वटा उपसमूहमध्ये आज तीनवटा समूहको मात्रै हरियो देखियो बाँकी ९ वटा समूहमा भने रातो पोतियो ।

कारोबार, जीवन बिमा र म्युचुअल फन्ड समूहमा सकारात्मक वृद्धिसँगै क्रमशः १७.१६, ७.४६ र ०.०२ अंकको बढोत्तरी भयो ।

यसैगरी बाँकी नौ समूह बैंकिङ, होटल्स्, विकास बैंक, हाइड्रोपावर, वित्त, निर्जीवन बिमा, उत्पादन तथा प्रशोधन, अन्य र माइक्रोफाइनान्समा क्रमशः ०.५६, ७.६८, ८.२८, ५.७, २.१४, ५.०१, ३.६, ४.२९ र ०.३१ अंकले गिरावट आएको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी प्रभु बैंकको ३ करोड ६३ लाख रुपैयाँबराबरको सेयर कारोबार भयो । त्यस्तै नबिल बैंक र एनसीसी बैंकको क्रमशः ९६ लाख र ७९ लाख रुपैयाँबराबरको कारोबार भयो । यसैगरी कृषि विकास बैंक, एनआईसी एसिया बैंक, नेपाल बैंक लिमिटेड, मेगा बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक र एभरेस्ट बैंकको क्रमशः ६२ लाख, ६० लाख, ५६ लाख, ४१ लाख, ३९ लाख, ३९ लाख र ३८ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरुमध्ये सबैभन्दा धेरै कमाउनेमा साल्ट्र ट्रेडिङका सेयरधनीहरु बनेका छन् । यो कम्पनीको सेयरमूल्य हिजो तुलनामा झन्डै १० प्रतिशतले बढेको छ ।

यसैबीच आज कारोबार भएका कम्पनीहरुमध्ये सबैभन्दा धेरै गुमाउनेमा महालक्ष्मी विकास बैंक लिमिटेडका सेयरधनीहरु रहेका छन् । यो कम्पनीको सेयरमूल्य हिजोको तुलनामा झन्डै ५ प्रतिशतले गिरावट आएसँगै उनीहरुले गुमाएका हुन् ।