काठमाण्डौ । साताको पहिलो दिन आइतबार पनि सेयर बजार खुलेको १० मिनेट पनि नहुँदै ५० अंकले ओरालो लागेको छ। 

राजनीतिक घटनाक्रम र राष्ट्र बैंकले लघुवित्तका लागि ल्याएको कसिलो नीतिले सेयर बजारमा भारी गिरावट आएको हो। आज कारोबारको सुरुआतदेखि नेप्से ओरालो लागेको छ। 

यो समाचार तयार पार्दासम्म (११ः०८ बजे) नेप्से परिसूचक ५०.१८ अंक बढीले ओरालो लागिसकेको छ। योसँगै नेप्से १९७२.४६ को विन्दुमा झरेको छ।

अहिलेसम्म कारोबार भएका १६३ कम्पनीमध्ये १६० वटाको भाउ घटेको छ भने ३ वटाको मात्रै उकालो लागेको छ। 

यतिबेलासम्म लघुवित्त समूह सर्वाधिक ५.८२ प्रतिशतले ओरालो लागेको छ। महिला लघुवित्त, जाल्पा, नेष्डो, धौलागिरी र राष्ट्र उत्थान लघुवित्तको सेयरभाउमा नेगेटिभ सर्किट लागिसकेको छ। अन्य लघुवित्त संस्थाको सेयरभाउमा पहिरो गइरहेको छ। 

अहिलेसम्म जीवन विकास लघुवित्तको सर्वाधिक १ करोड ४४ लाख रुपैयाँ कारोबार भएको छ। समग्र कारोबार भने ११ करोड रुपैयाँ बढीको भएको छ।