काठमाण्डौ । सतप्रतिशत हदप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्न लागेको समिट लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य एकाएक बढोत्तर आएपछि बिहीबार दोस्रो बजारमा कारोबार सुरु भएको २५ मिनेटमै पोजेटिभ सर्किट लागेको छ । 

झापाको बिर्तामोडस्थित केन्द्रीय कार्यालय रहेको यस कम्पनीले आफ्नो विशेष साधारणसभामार्फत पुँजी संरचना परिवर्तनसँगै सतप्रतिशत हकप्रद सेयर निकाल्ने विशेष प्रस्ताव पारित गर्न लागेको हो । कम्पनीको सञ्चालक समितिको हिजो बुधबार बसेको १७९ औँ बैठकले साउन ४ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको थियो । 
 

एकाएक सेयर मूल्यमा १० प्रतिशतको हाराहारीमा बढोत्तरी आएपछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५३० रुपैयाँ पुगेको छ । दोस्रो बजारमा यो कम्पनीको अन्तिम सेयर मूल्य प्रतिकित्ता ४८२ रुपैयाँ थियो । बिहीबार यसको सेयर मूल्यमा प्रतिकित्ता ४८ रुपैयाँले बढेको छ । 

यो लघुवित्त छिटै अन्य राम्रो लघुवित्तसँग मर्जरमा जाने चर्चा चलेसँगै यसको सेयरमूल्यमा बढोत्तर आएको हुन सक्ने विश्लेषकहरु बताउँछन् । विशेष साधारणसभामा कम्पनी अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग आपसमा गाभ्नेरगाभिने वा प्राप्ति गर्ने विशेष प्रस्ताव पनि पारित हुनेछ । गाभ्ने र गाभिने र प्राप्ति गर्ने प्रक्रिया पूरा भएपछि कम्पनीले सेयरधनीहरुको नाममा कायम हुने गरी साधारण सेयर संख्याको १:१ अनुपात (एक सेयर बराबर नयाँ एक सेयर) अर्थात सतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्ने छ । 

उता मार्केट डेप्थमा कम्पनी सेयर खरिदकर्ताको चाप देखिए पनि बिक्रीतर्फ एकजनाले पनि चासो देखाएका छैनन् । यो समाचार तयार पार्दासम्म मार्केट डेप्थमा कम्पनीको २ हजार ३२७ कित्ता सेयर खरिद पोस्ट भएको छ भने बिक्रीतर्फ कुनै पोस्ट भएको छैन।