काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमीटेडको ७५ प्रतिशत हकप्रद निश्कासनको प्रस्तावको बिषयमा इन्साइडर ट्रेडिङ भएको देखिएको छ । 

यो विषय संचालक समिति तथा कम्पनीका जिम्मेवार अधिकारीहरुबाटै २ हप्ताअघिदेखि नै लिक भएको थियो । सूचना लिक भएकै कारण १४ दिनको अवधिमा यो कम्पनीको सेयरमूल्यमा उछाल आएको छ । 

निरन्तर बजार गिरावट हुँदा समेत यो कम्पनीको सेयरमूल्यमा अचाक्ली वृद्धि हुनुले समेत सुनियोजित ढंगले हकप्रदको सूचनामा खेल्ने काम भएको र यसमा गिरोहहरुले राम्रै चलखेल गरेका देखिन्छ ।

कालिका लघुवित्तको सेयरको दोश्रो बजारमा इन्साइडर ट्रेडिङ भइरहेकै समयमा यो कम्पनीले बिहीबार नेप्सेमार्फत एक सूचना जारी गर्दै ७५ प्रतिशत हकप्रद निश्कासन गर्ने निर्णय भएको प्रष्ट्याएको छ । सूचनामा पुस १८ गते बसेको संचालक समितिको १६३ औं बैठकले २०७५ को असार मसान्तसम्म कायम चुक्तापूँजी रु. १० करोडको ७५ प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने र सोही अनुसार जारी तथा चुक्तापूँजी वृद्धि गर्ने सम्बन्धी प्रस्ताव साधारणसभामा पेश गर्ने निर्णय भएको बताइएको छ । 

सूचनामा संचालक समितिको बैठक पुस १८ गते कुन समयमा बस्यो भन्ने कुरा खुलाइएको छैन । यसबाट समेत संचालक समितिबाट प्रस्ताव भएको बिषय नेप्सेको भित्तासम्म आउँदा समेत राम्रै चलखेल भएको बुझ्न सकिन्छ ।

पछिल्लो समय यो कम्पनीको सेयर मूल्यमा उस्तै चलखेल भएको विगत २ दिनको कारोबारले देखाउँछ । यी २ दिन कम्पनीको सेयर मूल्यमा उछाल आएको थियो, यसपछाडि अन्य कारण केही थिएन । थियो त एउटै कारण:हकप्रदको प्रस्ताव संचालक समितिले गर्दैछ भन्ने बिषय निर्णय हुनुअघि नै बाहिरी सकेको थियो । 

डिसेम्बर १२ मा यो कम्पनीको सेयर मूल्य दोश्रो बजारमा प्रतिकित्ता ७ सय ४० रुपैयाँमा सीमित थियो । त्यसपछि निरन्तर यो कम्पनीको मूल्य बढेको देखिन्छ । 

यसरी हेर्दा १५ दिनको अवधिमा कम्पनीको सेयर मूल्य बढेर ११ सय ४ रुपैयाँको उचाईमा पुगेको छ । १५ दिनमै कम्पनीको सेयर मूल्य प्रतिकित्तामा रु. ३६४ ले बढेको देखिन्छ । यसरी हेर्दा १५ दिनको अवधिमा कम्पनीको सेयरमूल्यमा चलखेल गरी ४९.१८ प्रतिशतले बढाइएको छ । 

यो कम्पनीले आर्थिक वर्ष २०७४/७५ को नाफाबाट ८ प्रतिशत मात्र बोनस सेयर दिने घोषणा गरेको थियो । ८ प्रतिशत बोनस सेयरकै कारण कम्पनीको मूल्यमा यति धेरै उछाल आउने अवस्था रहन्न । 

बजारका जानकारहरुले कालिका लघुवित्तको सेयर मूल्यमा चलखेल भएको दाबी गर्दै छानबिनका लागि नेपाल स्टक एक्सचेञ्जलाई आग्रह समेत गरेका छन् ।