Black Money
काठमाण्डौ । पछिल्लो समय अस्वभाविक रुपमा बुम भइरहेको पूँजीबजारमा कालोधन भित्रिएको सरकारी अधिकारीहरुले आशंका गरेका छन् ।
यहीकारण सेयरमा भइरहेको दिनहुँको बढ्दो लगानीको बिषयमा सुक्ष्म अनुसन्धान र खोजी हुने भएको छ । सरकारले एकैपटक १० लाख रुपैयाँ वा त्योभन्दा बढी रकमको सेयर कारोबार गर्ने लगानीकर्ताको सम्पत्तिको स्रोत खोजी गर्ने कामलाई अभियानकै रुपमा संचालन गर्ने तयारी थालेको छ ।
स्रोतका अनुसार अर्थमन्त्रालय र सम्पत्ति शुद्धिकरण विभाग लगायतका निकायहरुमा कालोधन सेयर बजारमा थुप्रिएको रिपोर्ट पुगेको र कालोधनकै बढ्दो लगानीका कारण बजार परिसूचक बुम भएको भन्दै ती निकायले छानबिन थाल्ने भएका हुन् ।
स्रोतका अनुसार अर्थ मन्त्रालयको आयोजनामा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी नेपालको स्वमूल्यांकन तयारीसम्बन्धी गत साता काठमाडौंमा आवासीय कार्यशाला समेत भएको थियो । सो कार्यशालामा अस्वाभाविक रूपमा बढेको सेयर बजार र त्यसको लगानीका बारेमा गम्भीर रूपमा बहस भएको एक अधिकारीले जानकारी दिए ।
अर्थ मन्त्रालयका सहसचिव कृष्णप्रसाद देवकोटाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानीसम्बन्धी नेपालको स्वमूल्यांकनसम्बन्धी छलफलका लागि आयोजना गरिएको आवासीय छलफलका क्रममा सम्पत्ति शुद्धीकरण गरेको हुन सक्ने सेयर र रियल स्टेट सेक्टरलगायतका सम्भावित सबै पक्षका बारेमा छलफल भएको बताएका एक दैनिकले समेत लेखेको छ ।
छलफलको क्रममा बैंकिङ क्षेत्रमा जसरी नै सेयर बजारका साथसाथै अन्य सबै क्षेत्रमा हुने वित्तीय लगानीको स्रोत देखाउनुपर्ने विषयमा छलफल गरी शीघ्र त्यसलाई कार्यान्वयनमा लैजाने निर्णय भएको बताइएको छ । मनी लाउन्डरिङ भएको हुन सक्ने सम्भावना बढी देखिएकाले सेयर बजारमा भएको कारोबार र त्यहाँको लगानीका सम्बन्धमा छानबिन गर्ने निष्कर्षमा पुगिएको अर्थमन्त्रालयका एक अधिकारीले बताए ।
सो कार्यशालामा अर्थ मन्त्रालय, गृह मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, बिमा समिति, सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभाग, नेपाल प्रहरीलगायतका निकायका उच्च अधिकारी सहभागी थिए । सो कार्यक्रममा पुँजी बजारको कारोबार र परिसूचकमा आउन गरेको उछालबारे मिहीन ढंगले छलफल भएको थियो ।
मुलुकको अर्थतन्त्र खस्किएको, आर्थिक वृद्धिदर शून्य दशमलव ७७ प्रतशतमा सीमित हुने अवस्था आएको, भूकम्प र नाकाबन्दीको प्रभावले उद्योग व्यवसाय र कलकारखानाका साथै सबैखालका आर्थिक क्रियाकलाप शिथिल भएको विद्यमान अवस्थामा पुँजी बजार मात्रै एकोहोरो रूपमा बढेको भन्दै कालोधनकै करामतका कारण यस्तो भएको विश्लेषण अधिकारीहरुले गरेका थिए ।
नेपालमा हचुवाका भरमा लगानी गर्ने र अर्थतन्त्र तथा सम्बन्धित कम्पनिको वास्तविकताको मूल्यांकन नै नगर्ने परिपाटी रहेकाले सेयर बजार अस्वाभाविक रूपमा बढ्दै गएको धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले बताए । बजार निरन्तर र अस्वाभाविक रूपमा बढ्दै गएपछि यसतर्फ धेरैको ध्यान आकर्षण भएको उनले बताए ।
सेयर बजारलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको स्वीकार गर्दै उनले यसका लागि सरकारले सुधारात्मक कदम चाल्न लागेको स्वीकार गरे ।
सेयर बजारमा कालो धन लगानी भएको हुन सक्ने विषयमा सरकारी स्तरमा चासो व्यक्त हुनु स्वाभाविक रहेको उनको भनाई छ ।
नेप्से परिसूचक १ हजार ६ सय २० दशमलव ४७ अंकमा पुगिसकेको छ । नेपाल धितोपत्र बोर्डले मात्र हालसम्म अस्वभाविक रुपमा बढिरहेको बजारलाई ध्यानमा दिई लगानीकर्तालाई तीन पटकसम्म लिखित रुपमै सम्हालिएर लगानी गर्न आग्रह गरे पनि परिसूचक बुम हुने क्रममा कुनै करेक्सन हुन सकेको छैन ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago