काठमाण्डौ । घरजग्गा व्यवसायीहरुको छाता संगठन नेपाल जग्गा तथा आवास विकास महासंघले घरजग्गा कारोबारलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्न सरकार र नेपाल राष्ट्र बैंकलाई रणनीतिक कदम चाल्न आग्रह गरेको छ। 

महासंघले आइतबार एक विज्ञप्ति जारी गर्दै दुवै निकायलाई घरजग्गा क्षेत्रलाई सुदृढ गर्दै आर्थिक वृद्धि, आवास विकास र पुँजी परिचालनका लागि अवसर सिर्जना गर्नका लागि विभिन्न सुझाव दिँदै यस्तो माग गरेको हो। महासंघले दुवै निकाय ४–४ वटा महत्वपूर्ण कदम चाल्न सुझाव दिएको छ। 

भूमि बजार प्रणाली ऐन जारी गर्ने, आवास र भूमि एकीकरण परियोजनाहरु निजी क्षेत्रलाई सुम्पिने, जग्गाको कित्ताकाट प्रक्रियालाई सहजीकरण गर्ने र हकबन्दी छुट दिने कदम चाल्न महासंघले सरकारलाई सुझाव दिएको छ। 

यसैगरी राष्ट्र बैंकले ब्याजदरमा कटौती गर्ने, कर्जा पुनर्संरचना गर्ने, धितोको मूल्य र कर्जाको अनुपात (लोन टु भ्यालु रेसियो) वृद्धि गर्ने र अवासा कर्जालाई सहजीकरण गर्नेजस्ता कदम चाल्नुपर्ने महासंघको सुझाव छ। 

महासंघका अध्यक्ष भेषराज लोहनीले रियल स्टेट उद्योग नेपालको आर्थिक वृद्धिका लागि उत्प्रेरक बन्ने सम्भावना रहेको बताए। ‘हाम्रा यी सुझावहरुको कार्यान्वयनमा हामीले यो सम्भावनालाई मूर्त रुप दिन सक्छौँ’, उनले भने, ‘जसले गर्दा सरकार र निजी क्षेत्र दुवैका लागि जीत–जीतको स्थिति बन्दछ।’

यी सुझावहरुको सफल कार्यान्वयन सुनिश्चित गर्नका लागि महासंघ सरकार र राष्ट्र बैंकलगायतका सम्बन्धित सरोकारावालाहरुसँग हातेमालो गरी कार्य गर्न प्रतिबद्ध रहेको पनि अध्यक्ष लोहनीले बताए।