– प्रकाश न्यौपाने

काठमाण्डौ । पछिल्लो समय कम्पनीहरुले ल्याउने हकप्रद सेयरमा लगानीकर्ताको चासो घट्दै गएको छ। 

विगतमा नेपालको सेयर बजारमा विशेषगरी हकप्रदमा लगानीकर्ताले निकै चासो दिने गर्थे। कुन कम्पनीको धेरै हकप्रद आउँछ भनेर लगानीकर्ताहरु खोजतलासमा लाग्थे। बजारमा कुनै कम्पनीको हकप्रद आउने हल्लामात्र चले पनि त्यसमा लगानीकर्ता झुम्मिन्थे र खरिदचाप बढेर सेयरमूल्यमा सकारात्मक सर्किट नै लाग्थ्यो। 

पछिल्लो समय नेपालको पुँजीबजारमा हाइड्रोपावर कम्पनीको हकप्रदको बाढी आउन थालेको छ। तर, पहिलेजस्तो लगानीकर्ताले हकप्रदमा चासो दिएको देखिँदैन। 

नेपाल इन्भेस्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रोनियार हकप्रद निष्कासन गर्ने अधिकांश कम्पनीहरुको उद्देश्य भनेको कम्पनीलाई लागेको ऋण तिर्ने नै देखिएको बताउँछन्। ‘यतिबेला बजारले लगानीकर्तालाई निकै निराश बनाएको छ’, उनले भने, ‘सरकार र राष्ट्र बैंकको तालमेल नमिल्दा सम्पूर्ण व्यवसायी र सेयर लगानीकर्ताको उठीबास भएको छ। यही बेला हाइड्रोपावर कम्पनीहरुले धमाधम हकप्रद ल्याउँदैछन्। तर, लगानीकर्ताले चासो दिएका छैनन्।’

अहिले हकप्रद जारी गर्ने कम्पनीहरुको उद्देश्य फरक रहेकोले पनि लगानीकर्ताले चासो नदिएको हुन सक्ने रौनियारको विचार छ। ‘कम्पनीहरुले व्यवसाय विस्तारका लागि नभई आफ्नो ऋण तिर्न हकप्रद ल्याउँदैछन्’, उनले भने, ‘पहिले–पहिले कम पुँजी भएका केही कम्पनीलाई मात्र आफ्नो व्यवसाय बढाउन ल्याएको हकप्रदमा लगानीकर्ताको अलि बढी विश्वास देखिन्थ्यो। तर, अहिले हकप्रद निकाल्नुको आशय नै फरक छ। हकप्रद पनि सित्तैमा पाइने होइन। हकप्रद भरेपछि पनि कम्पनीको सेयरमूल्य समायोजन भई घटेर कारोबार हुन्छ।’ 

अहिले कमजोर कम्पनीका हकप्रद किनेर लगानीकर्ताले लामो समयसम्म पनि नाफा निकाल्न मुस्किल हुने रौनियारको तर्क छ। ‘त्यसैले पनि अहिले हकप्रदमा लगानीकर्ताको आकर्षण घट्दै गएको हुन सक्छ’, उनले भने। 

बजार जानकार मुक्ति अर्याल अहिले हकप्रदले ध्यान नतान्नुको मुख्य कारण लगानीकर्तासँग पैसा नहुनु नै रहेको बताउँछन्। ‘अहिले सम्पूर्ण व्यापार–व्यवसायको अवस्था निकै कमजोर भएको छ। दैनिक जीवन गुजारा पनि कष्टकर बन्दै गएको छ’, उनले भने, ‘यस्तो बेलामा अधिकांश हाइड्रोपावर कम्पनीले आफूलाई लागेको ऋण तिर्न हकप्रद जारी गर्दैछन्।’

खासगरी कम्पनीहरुले आफ्नो व्यापार थप बढाउनका लागि हकप्रद जारी गर्नुपर्ने अर्याल बताउँछन्। ‘यस्ता उद्देश्य राखेका कम्पनीको हकप्रदले मात्रै लगानीकर्तालाई आकर्षित गर्न सक्छ’, उनले भने, ‘तर, हाम्रो बजारमा त्यस्तो देखिँदैन।’

हकप्रद भर्नुअघि लगानीकर्ताले पनि लगानीको नाफा–नोक्सानको हिसाब गरेका कारण पनि तत्काल नाफा नहुने देखेर पहिलेजस्तो हकप्रदमा नझुम्मिएको हुन सक्ने अर्यालको तर्क छ। ‘हकप्रद भरेका कम्पनीको सेयरमूल्य समायोजन भएर तलै आउने देखेर पनि आकर्षण नबढेको हुन सक्छ’, उनले भने। 

अहिले बजारमा अल्पकालीन लगानीकर्ताहरु हाबी रहेको अर्याल बताउँछन्। ‘त्यस्ता लगानीकर्ताले लामो समयभन्दा छोटो समयमै पैसा कमाउने अवसर खोजेका हुन्छन्’, उनले भने, ‘त्यसैले हकप्रदमा गरेको लगानीबाट नाफा निकाल्न लामो समय लाग्ने भएकोले पनि उनीहरुले रुचि नदेखाएको हुन सक्छ।’