काठमाण्डौ । बजार पुनः सुस्ताउन थालेको छ । बजारमा चैत मसान्तमा बुझाउनुपर्ने करको दवाब समेत देखिन थालेको छ । 

तेश्रो त्रैमासमा बुझाउनुपर्ने करको दवाबका कारण समेत बजारमा बिक्रीको चाप बढेको विश्लेषकहरुको दाबी छ । 

यसबाहेक हालै सम्पन्न लगानी सम्मेलनमा पूँजीबजारलाई प्राथमिकतामा नराखिएको विषयले समेत बजारका लगानीकर्ताहरुको नकारात्मक तरङ्ग पैदा गरेको कतिपयको दाबी छ । सरकारले लगानी सम्मेलनजस्तो महत्वपूर्ण ठाउँमा पूँजीबजार बजार र यससँग सम्बद्ध पक्षलाई बेवास्ता गरेपछि अझै पनि सरकारको प्राथमिकतामा सेयर बजार नरहेको बुझिने भन्दै केही विश्लेषकहरुले बजारमा हल्ला पिटाएका कारण समेत बजारमा नकारात्मक अवस्था देखिएको केहीको दाबी छ । 

यसबाहेक बजारमा सकारात्मक प्रभाव पर्ने खालका अन्य ठूला परिवर्तन भएका छैनन् । 

यस्तै, नेपालमा लगानी गर्ने कतिपय मारवाडी समुदायहरुको प्रत्यक्ष अप्रत्यक्ष भारतको लोकसभा निर्वाचनमा समेत संलग्नता रहने गरेको र सेयर बजारका खेलाडीहरु आफन्तलाई सहयोग गर्न भन्दै भारत गएर चुनावी माहौल व्यस्त हुँदा समेत बजारमा खरीद चाप नदेखिएको केही विश्लेषक दाबी गर्छन् । 

साताको पहिलो कारोबार दिन बजारमा ०.९१ अंकको झिनो गिरावट देखियो। 

बैंकिंग समूह ०.२२ अंकले बढेको यो दिन उत्पादनमूलक समूहमा ३२.७ अंक र अन्य समूहमा २.८९ अंकको मात्र बढोत्तरी देखियो । बाँकी समूहको सूचकमा गिरावट आयो ।

विकास बैंक समूह १.३२ अंकले घटेको यो दिन होटल समूहमा २.७१ अंक, जलविद्युत समूहमा २.५८ अंक, बित्त समूहमा १.५८ अंक, निर्जीवन बिमा समूहमा ४४.६५ अंक, जीवन बिमा समूहमा ५२.९३ अंक र माइक्रोफाइनान्स समूहमा ५.२४ अंकको गिरावट देखियो । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६५ कम्पनीका ९ लाख ५० हजार ६४३ कित्ता सेयर  २६ करोड ६६ लाख ६ हजार ८१० रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी बैंक अफ काठमाण्डूले २ करोड १२ लाख रुपैयाँ बढीको कारोबार गरेको छ । 

प्रभू बैंकले १ करोड ५४ लाख बढीको कारोबार गरेको यो दिन शिवम सिमेन्टले १ करोड ६ लाख, नागरिक लगानीकोषले ९८ लाख, एनआइसी एशिया बैंकले ९७ लाख, अपर तामाकोशीले ९२ लाख बढीको कारोबार गरे। 

नवील बैंकको ७७ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल लाइफ इन्स्योरेन्सले ६१ लाख, एभरेष्ट बैंकले ५९ लाख र सिटिजन्स बैंकले ५६ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन अरुण कावेली पावर लिमीटेडका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ४.५५ प्रतिशतले बढ्यो ।

मल्टी पर्पोज फाइनान्स कम्पनीको मूल्यमा ४.३२ प्रतिशतको बढोत्तरी भयो।

यो दिन पनि युनिभर्सल पावरका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयरमूल्य ९.४९ प्रतिशतले घट्यो ।

रादी जलविद्युत कम्पनीको मूल्य ५.६१ प्रतिशतले घट्न पुग्यो ।