काठमाण्डौ । दशैं विदापछि बजार खुलेको दोश्रो साताको पहिलो कारोबार दिन आइतबार पूँजीबजार दोहोरो अंकले घटे पनि कारोबार रकम भने बढेको छ ।

आइतबार लगानीकर्ताको नजरमा विश्वास गुमाउँदै गएको स्ट्याण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले सम्पत्ति ३.३३ प्रतिशतले सम्पत्ति गुमाउनुपरेको छ । 

आइतबार नेप्से परिसूचक १२.०८ अंकले घटेर १७८२.३९ अंकमा पुगेको छ । क वर्गको कम्पनीहरुको कारोबार कम हुँदा सेन्सेटिभ इण्डेक्स पनि २.८६ अंकले घटेको छ । 

आइतबार होटल र विकास बैंक बाहेक सबै समूहको परिसूचकमा रातो पोतिएको छ । वाणिज्य बैंकमा १८ अंकको पहिरो गएको छ भने जलविद्युत समूहमा २८.७६, बिमामा १२.१५, बित्त समूहमा ४.०८ र अन्य समूहमा ९.२५ अंकको गिरावट आएको छ । 

होटल समूह १५.८४ अंकले बढ्दा विकास बैंक समूह ८.७३ अंकले बढेको छ । 
आइतबार कुल १२६ कम्पनीको १० लाख ८१ हजार कित्ता सेयर ९६ करोड ४५ लाख ९९ हजारमा रुपैयाँमा कारोबार भयो । 

कुल कारोबारको करिब ५० प्रतिशत वाणिज्य बैंकले होल्ड गरे । यो समूहको मात्र कुल ४७ करोड ३८ लाख रुपैयाँको कारोबार भयो । बिमा समूहको ३२ करोड बराबरको सेयर कारोबार भयो भने विकास बैंक समूहले ११ करोड बढीको कारोबार गर्यो । 

धेरै कारोबार गर्ने कम्पनी
आइतबार सबैभन्दा बढी कुमारी बैंक लिमीटेडको ६ करोड ६७ लाख रुपैयाँको कारोबार भयो । नेको इन्स्योरेन्सले ६ करोड ५६ लाखको कारोबार गर्यो भने शिखर इन्स्योरेन्सले ५ करोड ८५ लाख, एभरेष्ट बैंकले ५ करोड ३७ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले ५ करोड, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ४  करोड ६३ लाखको कारोबार गर्यो । माछापुच्छे बैंकको ४ करोड ३६ लाख, ज्योति विकास बैंकको ४ करोड २२ लाख, बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडको ३ करोड ५२ लाख र नेपाल लाइफको ३ करोड ४२ लाख बराबरको सेयर कारोबार भयो ।

धेरै कमाउने र गुमाउने कम्पनी
अघिल्लो साताकै ट्रेन्डलाई निरन्तरता दिंदै आइतबार पनि रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्था र कामना विकास बैंकले पैसा छापे । यी दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । मुक्तिनाथ विकास बैंकले पनि ६ प्रतिशत भन्दा बढीको दरले सेयर मूल्य बढायो । 

आइतबार पोखरा फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ४.३८ प्रतिशतले घट्यो । यसैगरी, स्ट्याण्डर्ड चार्टर्ड बैंकको लगानीकर्ताले पनि ३.३३ प्रतिशतले सम्पत्ति गुमाउनुपर्यो ।