काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार बजारमा ‘अशुभ संकेत’ देखिएको छ । बजार परिसूचक(नेप्से) ९.१९ अंकले घटेर १४३१.१० को विन्दूमा सीमित बन्न पुगेको छ भने कारोबार रकम पनि घटेर ३२ करोड ८३ लाखमा झरेको छ । 

बजारमा दोश्रो त्रैमास अन्तको प्रभाव देखिएको हो । यस्तै, सूचिकृत कम्पनीहरुको दोश्रो त्रैमासको रिपोर्टको प्रतिक्षामा धेरै लगानीकर्ता बस्दा समेत बजारमा यस्तो अशुभ संकेत देखिएको हो । बजारमा परिसूचक(इण्डेक्स) र कारोबार(टर्नओभर) समानान्तर ढंगले यसरी घट्नुलाई विश्लेषक तथा जानकारहरु अशुभ संकेत मान्छन् । 

यो प्रवृति यसैगरी जारी रहे आगामी दिनमा बजार अझ तल झर्नसक्ने विश्लेषण गरिन्छ । तर, अहिलेको ‘पर्ख र हेर’को रणनीति केही दिनसम्म मात्र सीमित हुनेछ, कारण अब माघ १ गतेदेखि नै सूचिकृत कम्पनीहरुले धमाधम दोश्रो त्रैमासको बित्तीय विवरण सार्वजनिक गर्न थाल्छन् । आधा वर्षको बित्तीय विवरणबाट कुन कम्पनीले कतिसम्म रिटर्न दिनसक्छ भन्ने कुरा आँकलन गर्न सकिने भएकोले समेत लगानीकर्ता त्यसको प्रतिक्षामा देखिँदा बजारमा यसको प्रभाव परेको हो । 

आइतबार जलविद्युत  समूह ५५.३७ अंक तथा अन्य समूह ३.६६ अंकले बढे पनि बाँकी अन्य सबै समूहको सूचक घटेको छ । 

बैकिङ समूह ८.८ अंकले घटेको छ भने बिमा, विकास बैंक र माइक्रोफाइनान्स समूहमा क्रमशः ९७.७९, २०.७९ र २६.३ अंकले घटेको छ । यस्तै, होटल समूह २५.९८ अंकले घट्यो भने ििबत्त समूह ९.७६ र उत्पादनमूलक समूह ४८.५१ अंकले घटेको छ । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा संकुचन आएका कारण सेन्सेटिभ इण्डेक्स १.४८ अंकले घटेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स०.६४ अंकले घटेको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५२ कम्पनीका ६ लाख ७० हजार ६ सय ४५ कित्ता सेयर ३२ करोड ८३ लाख ३२ हजार ८ सय १६ रुपैयाँमा किनबेच भएको छ । यो दिन सबैभन्दा बढी फरवार्ड माइक्रोफाइनान्स कम्पनीको १ करोड ९३ लाख बढीको सेयर किनबेच भयो । 

यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले १ करोड ५२ लाख, सानिमा माई हाइड्रोले १ करोड ४२ लाख, स्ट्याण्डर्ड चार्टर्डले १ करोड ३५ लाख, एभरेष्ट इन्स्योरेन्सले १ करोड ३० लाख बढीको कारोबार गरे । यस्तै, चिलिमे हाइड्रोले १ करोड १२ लाख बढीको कारोबार, नेपाल टेलिकमले १ करोड ८ लाख, बुटवल पावर कम्पनीले १ करोड ५ लाख बढीको कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन धेरै कमाउनेमा चिलिमे हाइड्रो र बुटवल पावर कम्पनी लिमीटेडको लगानीकर्ता अगाडि देखिए । चिलिमेको सेयर मूल्य ७ प्रतिशतको हाराहारी र बुटवल पावर कम्पनीको मूल्य ५ प्रतिशतले वृद्धि भयो । 

यस्तै, सेन्ट्रल फाइनान्स कम्पनी लिमीटेड र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनीका सेयरधनीले सबैभन्दा धेरै गुमाए । यी दुवै कम्पनीको मूल्यमा क्रमशः ६.२९ र ६.२५ प्रतिशतको गिरावट देखियो ।