काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले मार्जिन कारोबार गर्न अनुमति दिएको  एक महिना बितिसक्दा पनि सेयर सदस्य दलालमार्फत मार्जिन कारोबार सुविधा प्रवाह हुन सकेको छैन । 

गत असार १२ गते नेप्सेले मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि,२०७५ मा तोकिएको मापदण्ड पूरा गरेका ८ सदस्य सेयर दलालमार्फत आफ्ना ग्राहकलाई सेयर खरिद गर्ने प्रयोजनका लागि ऋण स्वरुप रकम उपलब्ध गराउनसक्ने एक किसिमको अल्पकालीन कर्जाको व्यवस्था सुरुवात हुने घोषणा गरेको थियो ।

मार्जिन खाता सञ्चालनका लागि सिडिएस एण्ड क्लियरिङ लिमिटेडले मार्जिन कारोबार सुविधाको छुट्टै कार्यविधि बनाएर स्वीकृतिका लागि  नियामक नेपाल धितोपत्र बोर्डसमक्ष पेश गरेको थियो । तर, निकै हप्ता बितिसक्दा समेत अझै बोर्डले स्वीकृत नगर्दा सेवा सुचारु नभएको नेप्सेस्थित स्रोतले जानकारी दिएको छ । 

धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने सिडिएसबाट आएको कार्यविधिको विषय छलफल र अध्ययनकै क्रममा रहेको जानकारी दिए ।

यता, सदस्य सेयर दलालहरुले मार्जिन कारोबार सुविधाका लागि आवश्यक सिस्टम तयारी अवस्थामा भइसकेको बताइरहँदा स्टक ब्रोकर एशोसिएसनका अध्यक्ष भरत रानाभाटले मार्जिन कारोबार खाता सञ्चालनका लागि सिडिएससीले बनाएको सिस्टमका लागि आवश्यक निर्देशन धितोपत्र बोर्डबाट आउने प्रतीक्षामा रहेको जानकारी दिए ।

हालसम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउने अनुमति पाउनेमा क्रिष्टल कञ्चनजंघा सेक्युरिटीज प्रालि,सेक्युर्ड सेक्युरिटीज प्रालि,भिजन सेक्युरिटीज प्रालि,नेपाल स्टक हाउस प्रालि,श्रीकृष्ण सेक्युरिटीज लिमिटेड,प्राइमो सेक्युरिटीज प्रालि,कोहिनूर  इन्भेष्टमेन्ट एण्ड सेक्युरिटीज प्रालि,दीपशीखा धितोपत्र कारोबार कम्पनी प्रालि छन् ।

अनुमति पाउने ब्रोकर कम्पनीहरु थपिने क्रम समेत जारी छ । तर, नियामकले नै कार्यविधि अड्काउँदा लगानीकर्ताहरुले भने मार्जिन सुविधा अझै पाउन सकेका छैनन् ।