काठमाण्डौ । नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार हवाई भाडा घटाएर आन्तरिक उडानतर्फको नयाँ मूल्य सार्वजनिक गरेको छ। 

नेपाल आयल निगमनले हवाई इन्धनको मूल्य घटाएसँगै प्राधिकरणले घटाएर आन्तरिक उडानतर्फको नयाँ भाडादर सार्वजनिक गरेको हो। तर, प्राधिकरणले सार्वजनिक गरेको नयाँ भाडादर र एयरलाइन्सले लिन भाडामा ठूलो भिन्नता रहेको हुन्छ। 

निगमले मूल्य समयोजन गरेसँगै प्राधिकरणले पनि सार्वजनिक गर्ने नयाँ भाडादरका कारण धेरैजसो यात्रु अलमलमा पर्ने गर्छन्। उनीहरुलाई लाग्न सक्छ कि सरकारले तोकेभन्दा बढी एयरलाइन्स कम्पनीले भाडा लिइरहेका छन्। तर, वास्तविकता भने अर्कै रहेको छ। 

प्राधिकरणले सार्वजनिक गर्ने नयाँ मूल्यसूची हवाई भाडाको दर नभएर इन्धनका लागि मात्र यात्रुले तिर्नुपर्ने रकम हो। त्यही भएर प्राधिकरणले सार्वजनिक गर्ने नयाँ मूल्यमा ‘फ्युल सरचार्ज’ लेखिएको हुन्छ। यो भनेको यात्रुले तिर्नुपर्ने इन्धनको नयाँ मूल्य हो। 

प्राधिकरण सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार सबैभन्दा बढी फ्युल सरचार्ज घटेको रुट भनेको काठमाण्डौ–धनगढी हो। यो रुटमा प्राधिकरणले ६१५ रुपैयाँ फ्युल सरचार्ज घटाएको छ। यसको अर्थ अब यात्रुले हवाई यात्रा गर्दा यो रुटमा तिर्नुपर्ने इन्धनबापतको रकम ६१५ रुपैयाँले घटेको छ। 

अब रह्यो वास्तविक हवाई भाडादरको कुरा। कुनै पनि रुटको हवाई भाडादरमा इन्धनको मूल्य, प्राधिकरणले लिने विमानस्थल कर र एयरलाइन्स कम्पनीले निर्धारण गरेको हवाई शुल्क जोडिन्छ। 

प्राधिकरणले प्रतिटिक ५०० रुपैयाँ विमानस्थल कर लिने गर्छ। एयरलाइन्स कम्पनीलाई भने सरकारले प्रतिसिट प्रतिमिनेट ७२.३४ रुपैयाँ दरले मूल्य निर्धारण गर्न अनुमति दिएको छ। 

काठमाण्डौ–धनगढी रुटको उडान समय करिब ८३ आसपास रहेको छ। यो हिसाबले काठमाण्डौ–धनगढी हवाई उडानमा एयरलाइन्स कम्पनीले ६ हजार रुपैयाँमाथि फ्युल सरचार्ज लिन सक्छन्। 

प्राधिकरणले नयाँ मूल्य सार्वजनिक गरेसँगै वायुसेवा सञ्चालक संघ नेपालले नयाँ भाडादर सार्वजनिक गरेको छ। जसमा काठमाण्डौ–धनगढी उडानका लागि एयरलाइन्स कम्पनीले कुल भाडादर १४ हजार ६४० रुपैयाँ तोकेको छ। यसमा प्राधिकरणले निर्धारण गरेको फ्युल सरचार्ज ६ हजार १० रुपैयाँ, एयरलाइन्स कम्पनीले हवाई शुल्क ८ हजार १३० र विमानस्थल कर ५०० रुपैयाँ जोडिएको छ। 

एयरलाइन्स कम्पनीहरुको हवाई शुल्क भने पाइलटको तलबभत्तादेखि जहाजको मर्मतसम्भारसम्मको शुल्क तय गरी निर्धारण गरिन्छ। यसमा सबै खर्च कटाएर एयरलाइन्स कम्पनीले राख्ने नाफासमेत जोडिएको हुन्छ। 

विगत लामो समयदेखि एयरलाइन्स कम्पनीहरुले लिने हवाई शुल्कमा कुनै परिवर्तन नभएको संघले जनाएको छ। ‘सरकारले निर्धारण गर्ने फ्युल सरचार्जमात्रै परिवर्तन भइरहेको छ’, संघका एक अधिकारीले भने, ‘त्यसैले हवाई भाडा सामान्य घटबढ भइरहेको हो। तर प्राधिकरणले सार्वजनिक गर्ने सरचार्ज भनेको यात्रुले तिर्नुपर्ने इन्धनको मूल्यमात्रै हो। त्यसैले धेरैजसो यात्रुलाई सरकारले तोकेकोभन्दा बढी भाडा एयरलाइन्स कम्पनीहरुले लिइरहेको भन्ने होला तर त्यस्तो होइन। हामीले लिने शुल्कमा विगत ६–७ वर्षदेखि कुनै फेरबदल भएको छैन।’