काठमाण्डौ । सेयर बजार सुधारका लागि केही काम भएपछि आशावादी बनेका लगानीकर्तालाई नघटेको बैंक ब्याजदरले निराशा बनाउने क्रम जारी छ । यहीकारण पूँजीबजारमा गिरावटको क्रमले यो साताको पहिलो कारोबार दिन आइतबार समेत निरन्तरता पायो । 

यो दिन नेप्से परिसूचक ४.९५ विन्दूले घटी ११००.५८ विन्दूमा सीमित हुन पुग्यो । नेप्से ११०० विन्दूकै वरिपरि फनफनी घुमिरहे पनि लगानीकर्ताले चाहेको ब्याजदर घट्ने संभावना तत्काल देखिएको छैन । 

बैंक ब्याजदर नघटेसम्म ‘पर्ख र हेर’को रणनीतिमा धेरै लगानीकर्ता बसी बजार प्रवेश नगर्दा समेत बजारमा निरन्तर गिरावट भइरहेको विश्लेषक बताउँछन् । ‘अहिले बजार बढ्न नसकेको र लगानीकर्ता बजारमा प्रवेश गर्न नसकेका एउटै र मूख्य कारण बैंकको ब्याजदर हो ।’ ती विश्लेषकले बिजशालासँग भने–‘राम्रा कम्पनीको सेयर निकै न्यून दरमा किन्न पाइँदा समेत खरिदारी नबढ्नुले बजार अझै तल जान्छ भन्ने मनोविज्ञानले लगानीकर्तालाई दवाब राखेको देखिन्छ ।’ 

यो दिन होटल समूहको सूचक ४.२३ प्रतिशतले बढेको छ भने जीवन बिमा कम्पनीको सूचक ५३.०८ अंकले बढेको छ । जीवन बिमा समूहको सूचकलाई बढाउने मुख्य भूमिका नेपाल लाइफ इन्स्योरेन्सले गरेको देखिएको छ । यो कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई आकर्षक लाभांश वितरणको घोषणा आइतबार गरेको थियो । बजारमा यही घोषणाको सकारात्मक प्रभाव देखिको हो । 

यो दिन बैंकिङ समूह ६.५९ अंकले घटेको छ भने निर्जीवन बिमा समूह २७.७२ अंक, विकास बैंक समूह ४.४६ अंक, जलविद्युत समूह ४.११ अंक, बित्त समूह ०.४४ अंक, उत्पादनमूलक समूह २३.७३ अंक, माइक्रोफाइनान्स समूह ७.५५ अंक र अन्य समूह १.८९ अंकले घटेका छन्।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १७४ कम्पनीका ८ लाख ७३ हजार ४९५ कित्ता सेयर २३ करोड ५३ लाख २० हजार ९४० रुपैयाँमा किनबेच भएको छ । 

सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ६० लाख बढीको कारोबार गरेको छ । 

यस्तै, नेपाल बैंकले १ करोड ५ लाख, प्रभू बैंकले ९९ लाख, एनएमबी बैंकले ९५ लाख, अपर तामाकोशीले ९१ लाख बढीको कारोबार गरेका छन् । 

जनता बैंकको ६३ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नवील बैंकले ५९ लाख, एशियन लाइफले ५४ लाख, एलआइसी नेपालले ५२ लाख र एनआइसी एशियाले ५१ लाख बढीको कारोबार गरेका छन् ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन भार्गव विकास बैंकका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयरमूल्य ६ प्रतिशतको हाराहारीमा बढ्यो । 

नेपाल लाइफ इन्स्योरेन्सले घोषणा गरेको आकर्षक लाभांशका कारण कम्पनीको सेयरमूल्य ३.४५ प्रतिशतले बढ्यो ।

यो दिन सिन्धु विकास बैंकका लगानीकर्ताले धेरै गुमाए । यो बैंकको सेयर मूल्य ८.६९ प्रतिशतले घट्यो ।