भारतमा मोबाइल फोनमा चलाइने डेटाको मूल्य घटेर न्यून विन्दुमा पुगेको छ। बीबीसीको पछिल्लो रिपोर्टअनुसार भारतमा मोबाइल ब्रोडब्यान्डको मूल्य विश्वकै सबैभन्दा सस्तो छ। त्यो कसरी सम्भव भयो भन्नेबारे प्रविधि विश्लेषक प्रसान्तो के रोयको आलेख

मूल्यहरूको तुलना गर्ने ब्रिटेनस्थित एउटा वेबसाइटलाई उद्धृत गर्दै बीबीसीले आफ्नो रिपोर्टमा जनाएअनुसार भारतमा एक जीबी मोबाइल डेटाको ०.२६ अमेरिकी डलर पर्छ भने संयुक्त राज्य अमेरिकामा १२.३७ डलर, ब्रिटेनमा ६.६६ र विश्वमा औसत ८.५३ डलर पर्छ।

तर धेरै भारतीय प्रयोगकर्ताहरू आफूले प्रतिजीबी ०.१० डलरभन्दा कम तिरिरहेका बताउँछन्।

अमेरिका र ब्रिटेनस्थित प्रयोगकर्ताले सर्वेक्षणमा भनिएको भन्दा आफूहरूले कम मूल्य तिर्ने गरेको बताएका छन्।

अन्तभन्दा धेरै सस्तो
वास्तविक मूल्य जे भए पनि के कुरा प्रस्ट भने भारतमा मोबाइलमा चलाइने डेटा अन्यत्रभन्दा सस्तो नै छ।

तर त्यो सधैँका लागि नहुन पनि सक्छ।

केही भन्छन् - मोबाइल सेवा प्रदायक ठूला कम्पनीहरू नयाँ ग्राहक पाउने प्रतिस्पर्धामा रहेकाले कम मूल्य केही समयका लागि मात्रै हुन सक्छ।

लन्डनस्थित एउटा लगानी कम्पनीमा काम गर्ने सौरभ सेनका अनुसार उनी आफ्नो मोबाइल सेवाका लागि प्रतिमहिना तीनदेखि चार कप कफीको मूल्य बराबर अर्थात् १३ डलर रकम तिर्छन्।

त्यति तिरेपछि उनी ईयूमा रोमिङ र तीन जीबी डेटासहित ब्रिटेनमा असीमित भ्वाइस र टेक्स्ट सेवा पाउँछन्। सबैतिर वाईफाई निःशुल्क पाइने भएकोले उनलाई त्योभन्दा बढी डेटा आवश्यक पर्दैन।

सस्तो दरमा उपलब्ध गराउने ब्रिटेनसँग केही योजना त छन्, तर सबैतिर वाईफाईको उपलब्धताले एशियासँगको वास्तविक तुलना गर्न गाह्रो भएको हो।

आफू भारत जाँदा झन्डै ६.६३ डलरमा प्रतिएमबी पाउने उनी बताउँछन्, जुन स्थानीय प्रयोगकर्ताले तिर्नेभन्दा ७० हजार गुणा बढी छ।

दिल्लीको बाहिरी भेगमा पर्ने गुडगाँवका रामनाथ मण्डल पेसाले सवारीचालक हुन्। असीमित निःशुल्क कलका लागि उनी प्रत्येक महिना तीन डलरभन्दा कम तिर्छन्।

त्यति तिरेपछि उनी फोरजी डेटाको ४२ जीबी डेटामध्ये प्रतिदिन डेढ जीबी पाउँछन्। त्यसको प्रयोग उनी भिडिओ हेर्न र बिहारमा रहेका आफ्ना परिवार एवम् साथीहरूसँग ह्वाट्सएपमा कुराकानी गर्छन्।

त्यो प्रतिजीबी छ सेन्ट पर्न आउँछ। यो रकम सेनले लन्डनमा फोरजीका लागि तिर्नेभन्दा ७० गुणाले सस्तो हो।

निःशुल्क परीक्षण सेवा
मण्डलले सेवा लिइरहेको रिलायन्स जियोबाट हो, यो कान्छो दूरसञ्चार सेवाप्रदायकले सस्तो, तीव्र गतिको मोबाइल डेटा र निःशुल्क कल सेवा उपलब्ध गराएर भारतीय बजारमा तहल्का मच्चाएको छ।

जियो सन् २०१६ को सेप्टेम्बरमा निःशुल्क परीक्षण सेवासहित आक्रामक रूपमा बजारमा आएको थियो। ऊ छ महिनाभित्रै एक करोड ग्राहक बनाउन सफल भयो।

दुई वर्षभित्रै जियो भारतको तेस्रो ठूलो दूरसञ्चार सेवाप्रदायक कम्पनी बनेको छ, जसको सन् २०१८ को डिसेम्बरसम्ममा २८ करोड प्रयोगकर्ता भएका छन्।

उसले फिर्ता हुनेगरी २१ डलरमा फोरजी विशेषता भएको जियो फोन उपलब्ध गराउँछ। यो योजनाअन्तर्गत प्रतिमहिना एक डलरभन्दा पनि कम पर्न आउँछ।

भारतको दूरसञ्चार नियामक निकाय टीआरएआईका अनुसार सन् २०१८ को डिसेम्बरको अन्त्यसम्ममा भारतमा मोबाइल ब्रोडब्यान्डका ५० करोड प्रयोगकर्ता छन्, तारसहितको ब्रोडब्यान्डका प्रयोगकर्ता चाहिँ एक करोड ८० लाख छन्।

एक अर्ब १७ करोड मोबाइल प्रयोगकर्तामध्ये ५५ प्रतिशत सहरी क्षेत्रका छन्। मोबाइल ब्रोडब्यान्डको प्रयोगकर्ता सबैभन्दा बढी जियोबाट भएका छन्।

देशको सबैभन्दा पुरानो दूरसञ्चार सेवाप्रदायक कम्पनीले जियोसँग प्रतिस्पर्धा गर्नुपर्‍यो। त्यसका लागि उसले फोरजीको मूल्य घटाउनुका साथै उपहारहरू दिने गरेको देखियो।

दिल्लीमा काम गर्ने अर्का चालक कलिपदा सस्मलले जियोको सेवा लिने विचार गरे। तर उनले प्रयोग गर्ने एयरटेलले प्रतिमहिना छ डलरमा ४० जीबी डेटा, बचेको डेटा अर्को महिना प्रयोग गर्न मिल्ने र एक वर्षका लागि एमेजन प्राइमको भिडिओ सेवा दिने भयो। त्यसपछि उनी एयरटेलमै अडिग भए।

जियोले भारतमा स्पष्ट रूपमा डेटाको मूल्यमा कमी ल्याएको छ। के बजारमा यो मूल्य कायम रहन सक्छ?

विश्लेषकहरू भन्छन्, जियोले ग्राहक तान्न र प्रतिस्पर्धी कम्पनीलाई जित्न सहुलियत दिइरहेको छ। जियो सञ्चालनमा आउँदा भारतमा १० वटा दूरसञ्चार सेवाप्रदायक कम्पनी अस्तित्वमा रहेकोमा अहिले जम्मा चारवटा छन्।

'डेटाको मूल्य बढ्नेछ'
सेलुलर अपरेटर्स एसोशिएशन अफ इन्डियाका प्रमुख राजन म्याथ्युजका अनुसार अत्यधिक प्रतिस्पर्धाका कारण उपभोक्ताले आफूले चाहेको भन्दा पनि कम मूल्य तिर्नुपर्ने अवस्था भएको हो।

"यदि सेवाप्रदायकहरूले नेटवर्कको पहुँच, गुणस्तर र नयाँ प्रविधिमा लगानी गर्ने हो भने डेटाको अहिलेको न्यून मूल्य कायम रहन सक्दैन।"

जियोले आफ्नो क्षमताको पाँच भागको एक भागमात्र प्रयोग गरेको भन्दै रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानीले अगाडि बढ्ने ठाउँ रहेको बताएका छन्।

जियोका २१ करोड ५० लाख ग्राहक रहेका बेला गत जुलाईमा कम्पनीको वार्षिक साधारणसभामा बोल्दै उनले भने, "हामी अब अतिरिक्त लगानीविना पनि आफ्ना ग्राहक ठूलो सङ्ख्याले बढाउन सक्छौँ।"

तर अति प्रतिस्पर्धाको स्थिति सधैँ रहन नसक्ने भएकोले डेटाको मूल्य बढ्ने सक्ने बताउँछन् डिजिटल अधिकारको पक्षमा वकालत गर्ने निखिल पाह्वा।

अरू दूरसञ्चार सेवाप्रदायक कम्पनीले जियोबाट दबाव महसुस गरिरहेको बताइन्छ।

पाह्वा भन्छन्, "जियो आउनुअघि बजारमा एक प्रकारको कार्टेलजस्तै थियो, जसले मूल्य उच्च राखे। मूल्यमा आएको गिरावटका कारण कतिपय कम्पनीहरू गाभिए र अहिले जम्मा चारवटा छन्।"

जियो निकटस्थ एउटा स्रोतका अनुसार सो कम्पनीले तोकेको मूल्यमा सहुलियत दिइएको होइन, बरु आर्थिक रूपमा सम्भव कुरा नै हो।

हुन त जियोको लामो परीक्षण सेवाअन्तर्गत नै करिब १० करोड ग्राहक बनेका हुन्। तर उसका ग्राहकले अरू कम्पनीका ग्राहकले भन्दा बढी खर्च गर्ने गरेको पाइएको छ।

भारतमा चालक, खाना पकाउने कुक, आप्रवासी, विद्यार्थी र सबै प्रकारका कामदारले भिडिओ हेर्ने तथा शेयर गर्ने प्रवृत्ति बढेसँगै गत दुई वर्षमा औसतमा डेटा खर्च गर्ने दर १० प्रतिशतले बढेको छ।

भारतीयहरूले प्रतिमहिना १० जीबीभन्दा बढी खर्च गर्ने गरेका छन्, जुन अमेरिकीहरूले प्रयोग गर्ने हाराहारीमै छ।

सार्वजनिक स्थलमा निःशुल्क वाईफाईमा भारतीयहरूको पहुँच कमै छ। यद्यपि गुगल र रेलटेल कर्पोरेशनको रेलवायरले झन्डै ४०० रेल्वे स्टेशनमा उच्च गतिको निःशुल्क वाईफाई उपलब्ध गराइरहेको छ।

प्रयोगकर्ताको मोबाइलमा अर्को कम्पनीको सिम भए पनि निःशुल्क भ्वाइस कलसेवा भएको जियोको प्रिपेड सेवा चाहिँ मेरुदण्डको रूपमा रहेको छ, अहिलेका लागि विश्वकै सबैभन्दा सस्तो मोबाइल डेटा।

(प्रसान्तो के रोय दिल्लीस्थित प्रविधि विश्लेषक हुन्। यो सामाग्री बीबीसीबाट साभार गरिएको हो ।)