– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । सेयर बजारमा लगानीकर्ताले नयाँ–नयाँ प्रडक्ट आउने अपेक्षा गरेका हुन्छन्। धेरै लगानीकर्ताले बजारमा इन्ट्राडे कारोबार र नयाँ टीएमएसजस्ता प्रडक्ट ल्याउन माग पनि गरिरहेका छन्। 

केही समयपहिले नयाँ प्रडक्टकै रुपमा नेपाल स्टक एक्सचन्ज (नेप्से)ले सञ्चालनमा ल्याउने भनेको छुट्टै इन्डेक्स ‘नेप्से–५०’मा अन्यौलता बढेको छ। ‘नेप्से–५०’ इन्डेक्स सञ्चालनमा ल्याउनका लागि अध्ययन गर्न भनेर नेप्सेले विज्ञका रुपमा कृष्ण गिरीलाई भित्र्याएको थियो। तर, विवाद आएपछि गिरीले नेप्से पनि छोडेर हिँडे। 

नेप्सेकै केही कर्मचारी ‘नेप्से–५०’ सञ्चालनमा आउने भन्ने विषय ‘कुहिरोमा बनेको तस्बिर’ जस्तै रहेको बताउँछन्। ‘नेप्से–५० वा नेप्से–३० आउने हो, अन्यौलता नै छ’, नेप्सेका एक अधिकारीले भने, ‘सञ्चालनमा आउँछ नै भन्ने निश्चित पनि छैन।’ 

नेप्सेका सीईओ कृष्णबहादुर कार्की पनि हाल नेप्से–५० वा नेप्से–३० सञ्चालनमा ल्याउने भन्ने विषयमा अन्यौलता नै रहेको बताउँछन्। ‘हामी यो आर्थिक वर्षभित्रमै उक्त इन्डेक्स सञ्चालनमा ल्याउँछौँ’, गोलमोटल जबाफ दिँदै कार्कीले बिजशालासँग भने, ‘तर, नेप्से–५० वा नेप्से–३० कुन सञ्चालनमा ल्याउने भन्ने विषयमा अहिले नै प्रस्ट भइसकेको छैन।’

कार्कीले यस विषयमा थप अध्ययन गर्नुपर्ने देखिएकोले वैशाख २ गते लन्च गर्न नसकिएको बताए। यसअघि नेप्सेले वैशाख २ गते नेप्से–५० लन्च गर्ने तयारी गरेको थियो। 

त्यसैगरी ब्रोकरहरुले ल्याउने भनेका नयाँ टीएमएस पनि वैशाखदेखि नै सञ्चालनमा आउने भनिएको थियो। यो पनि आन्तरिक रुपमा भेन्डर कम्पनी र ब्रोकरहरुबीचको विवादका कारण सञ्चालनमा आउ नसकेको स्रोत बताउँछ।