खाँदबारी । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको किमाथाङ्का नाका व्यवस्थित गरेर सञ्चालन गरिने बताएका छन्। 

प्रेस सेन्टर संखुवासभाले खाँदबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थमन्त्रीले अरुण करिडोरको निर्माणसँगै चीनसँगको नाका किमाथाङ्कालाई व्यवस्थित गरिने बताएका हुन्। अरुण करिडोरको निर्माणले संखुवासभामा विकासको ढोका खुल्ने विश्वास उनले व्यक्त गरे। 

संखुवासभामा अथाह प्राकृतिक स्रोतसाधन रहेको भन्दै मन्त्री शर्माले त्यसको उपयोगबाट जिल्लालाई धनी बनाउन मद्दत पुग्ने बताए। 

त्यस्तै अर्को एक कार्यक्रममा अर्थमन्त्री शर्माले अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुद बनाउने विश्वास व्यक्त गरे। अरुणबाट उत्पादित विद्युतले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने र अर्थतन्त्र मजबुद बनाउन सहयोग पुग्ने उनको भनाइ छ । ‘अप्पर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दैछ’, उनले भने। 

व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन संखुवासभामा रहेका कारण सरकारले लगानी बढाउने प्रतिबद्धता मन्त्री शर्माले जनाए। अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको उनको भनाइ थियो।