काठमाण्डौ । नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख प्रतिपक्षी दल नेकप एमालेको अर्थ तथा योजना विभागको सदस्यको रुपमा छद्म नाममा रहेको विषय अहिले चर्चामा छ । 

दल विशेषको विभागको सदस्यमा छद्मभेषी नाममा रहेका कारण उनी अहिले चरम विवादमा छन् । 

सरकारको उच्च ओहोदामा रहेर दल विशेषको विभागको सदस्यको रुपमा बस्दा उनीमाथि राजीनामाको चौतर्फी दवाब छ । यो विषय बढ्दै जाँदा पछिल्लो प्रधानमन्त्री शेरबहादुर देउवाले समेत गभर्नर अधिकारीलाई मार्गप्रशस्त गर्न आग्रह गरिसकेका छन् । गभर्नर अधिकारी भने छाड्नै परे पनि मौद्रिक नीति ल्याएर मात्र विचार गर्ने मूडमा देखिन्छन् । 

एम. अधिकारी प्रकरणले देशको राजनीतिक बजार तातिरहेको बेला अर्का एक उच्च सरकारी अधिकारी पनि दल विशेषको विभागीय सदस्य रहेको रहस्य खुलेको छ । 

उज्यालो नेपालका अभियन्ताको रुपमा लोकप्रिय बनेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पनि छद्म नाममा माओवादी केन्द्रको एक विभागको सदस्यमा रहेका खुलेको हो।

 

माओवादीले गठन गरेको जलस्रोत, सिंचाई तथा उर्जा विभागको सदस्यको रुपमा कुलमान घिसिङ कृपा सिंहको छद्म नाममा रहेका छन् । 

माओवादी निकट उच्च स्रोतकाअनुसार लिलामणि पोखरेलको संयोजकत्वमा गठित ३२ सदस्यीय विभागमा कुलमान कृपा सिंहको नाममा रहेका हुन् ।

उनको नाम विभागको १७ नम्बरमा रहेको छ । 

कृपा सिंहको रुपमा रहेको व्यक्तिको ठेगाना रामेछाप भनिएको छ भने उनलाई उर्जा विज्ञको रुपमा सदस्य प्रस्तुत गरिएको छ । 

यो विषयमा खोजी गर्ने क्रममा कुलमान घिसिङ आफ्ना दिवंगत पिताको नाममा माओवादी विभागको सदस्यमा रहेका खुलेको छ । उनका पिता कृपा सिंह घिसिङको ०७७ असार २१ गते निधन भएको थियो । कुलमानको घर रामेछाप सुनापति गाउँपालिका वडानम्बर ४ बेथानस्थित डहूमा रहेको छ । 

खोजबिन गर्ने क्रममा रामेछापमा वा त्यहाँबाट काठमाण्डौ आएर बसेको कृपा सिंह नामको कुनै पनि विज्ञ जलस्रोत, उर्जा विज्ञ भेटिएनन्। 

नेपाल विद्युत प्राधिकरण कर्मचारीहरुको आचारसंहिता २०६५ ले प्राधिकरणका कर्मचारीदेखि हाकिमसम्मले पालना गर्नुपर्ने आचारसंहिता अन्तर्गत कुनै पनि दलको सदस्यता लिन नहुने, राजनीतिक क्रियाकलापमा सहभागी बन्न नहुने व्यवस्था गरेको छ । आचारसंहिताको बुँदा ८ को उपबुँदा (ग)मा यस्तो व्यवस्था छ । 

बुँदा नम्बर १३ मा कर्मचारी आचारसंहिता उल्लंघन गरे  कर्मचारी सेवा विनियमावली २०६२(संसोधनसहित) बमोजिम विभागीय कारबाही हुने भनिएको छ ।