काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रमा दुई गुणाले लगानी बढाउन राष्ट्रिय वाणिज्य बैंकलाई आग्रह गरेका छन्। 

भर्चुअल माध्यमबाट सोमबार भएको बैंकको ५७ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले बैंकलाई कृषि क्षेत्रमा कम्तीमा दुई गुणा लगानी बढाउन आग्रह गरेका हुन्। ‘यो ५७ औँ वार्षिकोत्सव समारोहसँगसँगै बन्ने नयाँ कार्यक्रममा यहाँहरुले आफ्नो ११ प्रतिशत कृषि क्षेत्रको लगानी, ५ प्रतिशत पर्यटन र ५ प्रतिशत औद्यागिक क्षेत्रको लगानीलाई अवश्य पनि वृद्धि गर्नुहुनेछ’, उनले भने, ‘यसलाई सकेसम्म दुई गुणा वृद्धि गर्नुहुनेछ। जसबाट राष्ट्रिय पुँजी निर्माण, उत्पादन तथा रोजगारीमा  महत्वपूर्ण योगदान पुग्नेछ।’ 

शर्माले सरकारको नीति पनि उत्पादनमुखी क्षेत्रको लगानीमा केन्द्रित रहेको स्मरण गराउँदै लगानी त्यसमा लगानी बढाउन आग्रह गरे। 

आत्मनिर्भर हुनका लागि लगानी अति आवश्यक रहेको उल्लेख गर्दै मन्त्री शर्माले बैंकले वैदेशिक ऋण भित्र्याउन गरिरहेको प्रयासमा सरकारले सहयोग गर्ने विश्वास दिलाए। राष्ट्रिय वाणिज्य बैंक सरकारी वित्तीय संस्था भएकाले यसले मोडेलको भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए। ‘निजी क्षेत्र, सहकारी र सार्वजनिक क्षेत्रको त्रिपक्षीय साझेदारीमा देशको अर्थतन्त्रलाई विकास गर्ने हाम्रो मुख्य रणनीति हो’, उनले भने, ‘यो रणानीतिमा रहेर यस बैंकले वित्तीय क्षेत्रमा एउटा मोडल स्थापित गर्नुपर्छ।’ 

शर्माले बैंकले मोडेल स्थापित गरेर अन्य वित्तीय संस्थाहरुलाई पनि शिक्षा दिन सक्नुपर्ने बताए। 

पछिल्लो समय प्रविधिको युग रहेको उल्लेख गर्दै मन्त्री शर्माले बैंकले सुरु गरेको ‘अनस्ट्रक्चर्ड सप्लिमेन्टरी सर्भिस डाटा’ (युएसएसडी) प्रशंसनीय रहेको बताए। यसले इन्टरनेट नभएको स्थानमा पनि मोबाइल बैंकिङको लाभ ग्राहकले लिनसक्नेमा उनले विश्वास व्यक्त गरे। यो प्रविधिबाट वित्तीय साक्षरता तथा वित्तीय पहुँच वृद्धि हुने पनि उनको भनाइ थियो। 

बैंकको वार्षिकोत्सवका अवसरमा मन्त्री शर्माले यूएसएसडी सेवाको उद्घाटन तथा ‘उपहार’ पुस्तकको लोकार्पणसमेत गरेका थिए। 

राष्ट्रिय वाणिज्य बैंक २०२२ साल माघ १० गते स्थापना भएको हो। हाल यसले देशभरका २५८ शाखाबाट सेवा प्रदान गर्दै आइरहेको छ।