काठमाण्डौ ।तत्कालिन प्रधान्मन्त्री केपी शर्मा ओलीले जीवनमै पहिलो पटक आबेदन दिएको त्रिशुली जलविद्युत् कम्पनीको सेयर सूचीकृत भएको एक सातासम्म पनि दोस्रो बजारमा कारोबार हुन सकेको छैन ।

गत मंसिर १२ गते मंगलबार  नै उक्त कम्पनीको सेयर नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकृत भएको थियो ।   त्रिशुली जलविद्युत कम्पनी जनताको जलविद्युत् कार्यक्रम अन्तर्गत छनौट भएका १९ वटा मध्ये सर्वसाधारणमा सेयर जारी गर्ने पहिलो कम्पनी पनि हो ।

उक्त कम्पनीले निश्कासन गरेको आईपीओमा पहिलो आवेदकको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीले आवेदन दिएका थिए । उक्त कम्पनीमा तत्कालिन अर्थमन्त्री बर्षमान पुन र उनकी धर्मपत्नीले पनि आबेदन दिएका थिए । 

१० रुपैयाँ बैना गरेर प्रतिकित्ता १०० रुपैयाँ दरको सेयर किन्ने सर्वसाधारणको घुँइचो नै लागेको थियो । यही कारण कम्पनीको आईपीओमा मागभन्दा १८ गुणा बढी आवेदन परेको थियो । यसै विषयमा कतिपय लगानीकर्ताले नेप्सेमा सूचीकृत हुँदा पनि कारोबार नभएको गुनासो गरेका छन् ।

एक जना लगानीकर्ता अरुण पौडेलले दोस्रो बजारमा कारोबार नभएकोले कम्पनीको सेयर खरिदबिक्री गर्न नपाएको बताएका छन् । 

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार प्रिओपन सेसनमा कोही पनि लगानीकर्ता सेयर बेच्न तयार नहुँदा दोस्रो बजारमा कम्पनीको कारोबार सुरु नभएको हो । 

कम्पनीले रसुवा र नुवाकोटमा ३७ मेगावाटको माथिल्लो त्रिशुली- ३ बी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीमा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ ।