काठमाण्डौ । काठमाण्डौ विश्वविद्यालय (केयू) ले नेपालमै पहिलो पटक ‘हाइड्रोजन कार’ भित्र्याएको छ ।

नेपाल आयल निगम(एनओसी) को सहयोगमा केयूले गत शनिबार हुन्डाई कम्पनीको कार नेपाल ल्याएको हो ।केयूले कोरियामा निर्मित उक्त हाइड्रोजन कार ४३ लाख ८९ हजार रुपियाँ(३३ हजार अमेरिकी डलर ९) मा खरिद गरेको हो ।उक्त हाइड्रोजन कारको रिफ्युलिङका लागि विश्वविद्यालयभित्रै नमूना रिफ्युलिङ सेन्टर स्थापना गरिएको छ ।

केयूका उपकुलपति प्राडा भोला थापाले नेपालको सडकमा हाइड्रोजन कार चलाउन सकिन्छ भन्ने देखाउन र सम्बन्धित् निकायको यसप्रति चासो बढाउन हाइड्रोजन कार भित्र्याएको सञ्चारकर्मीहरुलाई बताएका छन्।

उनले हाइड्रोजनलाई वैकल्पिक इन्धनका रूपमा स्थापित गर्न र यसलाई प्रयोगमा ल्याउने कानून निर्माणलगायतका काम गर्न सरकारले अब ढिला गर्न नहुने पनि बताएका छन् ।

एनओसी र केयूबीच दुई वर्षअघि हाइड्रोजन ल्याब स्थापना, रिफ्युलिङ सेन्टरलगायतका काम गर्न ५ करोड रुपियाँ सहयोग उपलब्ध गराउने सम्झौता भएको थियो  । केयूले यसअघि नै हाइड्रोजनलाई वैकल्पिक इन्धनका रूपमा प्रयोग गर्न हाइड्रोजन उत्पादनको अनुसन्धान तथा ल्याब स्थापना गर्ने निर्णय गरिसकेको छ ।

बैंक, सपिङ कम्प्लेक्स आदिका लागि जेनेरेटरभन्दा यो धेरै राम्रो विकल्प हुनसक्छ । फलाम खानी, इँटाभट्टा, सिमेन्टलगायत अत्यधिक ऊर्जा खपत हुने उद्योगमा प्रयोग गरिने कोइलालाई प्रतिस्थापन गर्न सकिन्छ । पेट्रोलियम पदार्थ, एलपी ग्यास, रासायनिक मल उत्पादनका क्रममा प्रयोग हुने ऊर्जा सबैलाई हाइड्रोजनले विस्थापन गर्नसक्ने बताइएको छ ।     

हाइड्रोजन उत्पादन विश्वको तुलनामा नेपालमा सस्तो हुने विज्ञहरुको भनाइ छ । विश्वबजारमा एक किलो हाइड्रोजनको मूल्य पाँच अमेरिकी डलर हाराहारी रहे पनि नेपालमा एक केजीको एक डलर पर्ने अनुमान छ ।

विद्युतीय गाडीमा ब्याट्रीलाई चार्ज गरेर ब्याट्रीबाट बिजुली प्रदान गरिन्छ । ब्याट्री भारी हुन्छ र यसको बिजुली स्टोरेज क्षमता पनि कम हुन्छ । हालसम्मका इभीहरू एक पटकको फुल चार्जबाट बढीमा ५०० किलोमिटर कुद्न सक्ने क्षमताका छन् । तर, हाइड्रोजन कार १ किलो हाइड्रोजनबाट २ ०० किलोमिटर कुद्न सक्छ । 
पेट्रोलियम कारभन्दा हाइड्रोजन कार तीनदेखि पाँच गुणा सुरक्षित रहेको अनुमान छ ।

यातायात सम्बद्ध विज्ञहरुका अनुसार नेपालमा हाइड्रोजन इन्धन बारे चर्चा परिचर्चा भएपनि वैकल्पिक इन्धनका रूपमा परिभाषित गरिएको छैन । यातायात व्यवस्था विभागले पनि हाइड्रोजनबाट चल्ने सवारीसाधनलाई नम्बर प्लेट अहिलेसम्म दिएको छैन नेपालमा हाइड्रोजनलाई इन्धनका रूपमा परिभाषित नगरिएकाले यसतर्फ सरकारको ध्यान जान जरुरी रहेको उनीहरुको भनाइ  छ।