काठमाण्डौ । बैंकहरुले ब्याजदर घटाउने संकेत र बोनस तथा हकप्रद सेयरको आधार मूल्यमा पूँजीगत लाभकर नलाग्ने खबर बाहिरिएसँगै बजार सकारात्मक दिशातर्फ उन्मुख भएको छ । बुधबार नेप्से  परिसूचक १३.०६ अंकले बढी १२३०.७१ को विन्दूमा पुगेको छ ।

मंगलबारदेखि बजार बढ्नुमा कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न थालेको बिषयलाई समेत लिइएको छ । बुधबार समेत केही कम्पनीले लाभांश घोषणा गरेका थिए, यसले समेत बजार बढाउन सहयोग गरेको केही विश्लेषकहरुले बताएका छन् । अर्कोतर्फ, अब कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्ने भएकोले यसको लोभमा लगानीकर्ताहरुले बजारमा खरिदारी बढाउँदा नेप्से परिसूचक उकालो लागेको कतिपयको दाबी छ ।

बुधबार ‘क’ वर्गका कम्पनीहरुमा खरीद चाप देखियो, जसका कारण सेन्सेटिभ इण्डेक्स २.७९ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा १.०७ अंकको बढोत्तरी भयो ।

यो दिन कारोबार रकममा पनि बजारले फड्को मारेको छ । परिसूचकसँगै कारोबार रकममा पनि बढोत्तरी हुनु बजारको सुखद भविष्यको संकेत समेत मान्न सकिन्छ । तर, यो प्रवृति केही दिनसम्म निरन्तर हुनुपर्छ । मंगलबार र बुधबार नै यो प्रवृति कायम रहेकोले बजार अझै बढ्ने लगानीकर्ता आशावादी समेत देखिएका छन् ।

बुधबार होटल समूह १.४१ अंकले घट्यो भने बित्त समूहमा २.२३ र उत्पादनमूलकमा २.६८ अंकको गिरावट आयो । बाँकी सबै समूहको सूचक बढे ।

यो दिन बैंकिङ समूह १३.९८ अंकले बढ्यो भने विकास बैंक समूह १४.८४ अंक, जलविद्युत समूह ४.८१ अंक, निर्जीवन बिमा समूह ११३.५२ अंक, जीवन बिमा समूह ३.९८ अंक, माइक्रोफाइनान्स समूह १५.८८ अंक र अन्य समूह ७.१९ अंकले बढे ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ६५ कम्पनीका १३ लाख ९३ हजार ६ सय ४९ कित्ता सेयर ४३ करोड २९ लाख ५७ हजार ६८ रुपैयाँमा किनबेच भयो ।

यो दिन सबैभन्दा बढी एनआइसी एशिया बैंकले ४ करोड ८९ लाख बढीको कारोबार गर्यो । यस्तै, ग्लोबल आइएमई बैंकले ३ करोड ६९ लाख, एनएमबी बैंकले २ करोड ९६ लाख, प्रभू बैंकले २ करोड ११ लाख, स्वाबलम्बन लघुवित्तले १ करोड ६६ लाख, कुमारी बैंकले १ करोड ४७ लाख बढीको कारोबार गरे । नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ३८ लाख बढीको संस्थापक सेयर किनबेच भएको बजारमा नेपाल बैंकले १ करोड ३० लाख, नेपाल टेलिकमले १ करोड २९ लाख र प्राइम कमर्सियल बैंकले १ करोड २८ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन बजारमा रिदी हाइड्रो र मल्टिपर्पोज फाइनान्सका लगानीकर्ताले धेरै कमाए । यो कम्पनीको सेयर मूल्य ५.२६ र मल्टि पर्पोज फाइनान्स कम्पनीको सेयर मूल्य समेत ५.२६ प्रतिशतले नै बढ्यो । यो दिन प्रभू बैंक र एनआइसी एशिया बैंकले समेत ५ प्रतिशतको हाराहारीमा सम्पत्ति कमाए ।

यो दिन आइसीएफसी फाइनान्सका लगानीकर्ताले धेरै गुमाए । यो कम्पनीको सेयर मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो ।