काठमाण्डौ । पूँजीबजार झिनो अंकले बढे पनि कारोबार रकममा भने राम्रो सुधार भएको छ । बजार परिसूचक १.२९ अंकले बढे पनि साताको पहिलो कारोबार दिन आइतबार १३३ कम्पनीका २९ लाख २६ हजार ५ सय ५० कित्ता सेयर ६२ करोड २० लाखमा किनबेच भएको हो । 

बजार विश्लेषकहरुले साताको पहिलो दिन झिनो अंकले परिसूचक बढे पनि कारोबार रकममा देखिएको सुधारले आगामी दिनमा बजार केही बढ्नसक्ने संकेत गरेको बताएका छन् । उनीहरुले पुस १ गते नेपाल राष्ट्रबैंकले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको अर्थतन्त्रको समीक्षामा सबै सूचकहरु सकारात्मक देखिएका तथा मुलुक चार महिनामा पहिलोपटक नाफा(बचत)मा गएको स्पष्ट पारेपछि यसको प्रभावले समेत बजार केही दिनसम्म माथि जानसक्ने विश्लेषण गरिएको छ । 
आइतबार ३ समूहको परिसूचकमा हरियो पोतिए पनि बाँकीमा भने गिरावट नै देखिएको छ । सबैभन्दा बढी विमा समूूह ७२.९१ अंकले उक्लिएको छ । होटल समूहमा ९.७७ र अन्य समूहमा २.८९ अंकको बढोत्तरी देखियो । 

अन्य सबै समूह घटेका छन् । जलविद्युत समूहमा सबैभन्दा धेरै १३.३५ अंकको गिरावट देखियो । यस्तै, बित्त समूह ३.४, उत्पादनमूलक २.३३, विकास बंैक १.८१ र वाणिज्य बंैक समूह ०.९ अंकले घटे । 

धेरै कारोबार गर्ने कम्पनी
वाणिज्य बैंकहरुले ३४ करोड ११ लाख बराबरको कारोबार गरे । बिमा समूहले १० करोड ८३ लाख र विकास बैंक समूहले ६ करोड ६४ लाखको कारोबार गरे । 

कम्पनीगत हिसाबले आइतबार सबैभन्दा बढी एभरेष्ट बैंकले १५ करोड ३४ लाख बराबरको कारोबार गर्यो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड ५ लाख बढीको प्रोमोटर सेयरको पनि किनबेच भयो । यस्तै, बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले २ करोड ६६ लाख, सिद्धार्थ बैंकले २ करोड ६६ लाख नै, शिखर इन्स्योरेन्सले १ करोड ६० लाख बढीको कारोबार गरे । धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा वाणिज्य बैंक ४ स्थानमा खुम्चियो भने बिमा कम्पनीले ३, विकास बैंकले १ र जलविद्युत कम्पनीले १ स्थानमा कब्जा जमाए । 

धेरै कमाउने र गुमाउने कम्पनी
आइतबार चार कम्पनीले कुस्त कमाए । अल्पाइन डेभलपमेन्ट बैंक लिमीटेड र एनबी इन्स्योरेन्सको सेयर मूल्य क्रमशः ९.५५ र ९.४३ प्रतिशतले वृद्धि भयो । यस्तै, सप्तकोसी डेभलपमेन्ट बैंक लिमीटेड र रिलायवल माइक्रो फाइनान्स बित्तीय संस्थाका सेयरधनीले पनि कुस्त कमाए । यी दुुई कम्पनीको सेयर मूल्य क्रमशः ८.५२ र ८.१५ प्रतिशतले वृद्धि भयो । 

प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्यमा पहिरो गयो । यो कम्पनीको सेयर मूल्य ९.४५ प्रतिशतले तल झर्यो । ओमी माइक्रो फाइनान्सको सेयर मूल्य पनि ६ प्रतिशतको हाराहारीमा घट्यो ।