-भक्तराज रसाइली 
काठमाण्डौ । काठमाण्डौं नैकाप निवासी लक्ष्मी पराजुली(पौडेल)को १४ वर्ष शिक्षण पेशा गरेको अनुभव छ । 

पोखरा र काठमाण्डौंका बोर्डिङ्ग स्कूलमा शिक्षण गरेकी उनी सो पेशामा रम्न नसकेपछिसानो लगानीमा ६ जनालाई रोजगारी दिदैं घरेलु उद्योगमा हात हालिन् । नूडल्स उद्योगमा राम्ररी चलाएको अनुभव संगालेकी उनले जनशक्ति र अन्य कारणले उद्योगलाई निरन्तरता दिन सकिनन् । 

उनको दिनहँु पत्रपत्रिका पढ्ने छ । यही बानीले उनको नजर सेयर बजारतर्फ मोडियो । उनले सेयर बजारको बिषयमा चासो लिन थाल्दा बजारले उछालको गति समाइरहेको थियो । मानिसहरु सेयरबाटै मालामाल भइरहेको कुरा सुनिन्थ्यो । 

फूर्सदको समयमा केही गरौं भन्ने सोचका साथ उनी सेयर बजार विश्लेषक रबिन्द्र भट्टराईसँग तालिम लिई बजारमा प्रवेश गरिन् ।

सरकारी जागिरे र हाल राजनीति र समाजसेवामा आवद्ध उनका पतिको प्रेरणाले पनि सेयर बजारमा आफू आइपुगेको उनको अनुभव छ ।

बी.कम. र बी.एड.सम्मको अध्ययन गरेकी पराजुलीको सेयर बजार प्रवेश नै दोश्रो बजारबाट भयो । 

विश्लेषक रबिन्द्र भट्टराईबाट आधारभूत सेयर तालिम लिइसकेपछि केही साक्षर भएको र हल्लाखल्लाकै बीचमा पोखरामा रहेको जग्गा बेचेको पैसा चलाउँदै आफूले सेयरमा लगानी गर्न थालेको उनले सुनाइन् ।

२०७० साल पुस ८ गते सेकेण्डरी मार्केटमा नबिल, एभरेष्ट र एसबीआई बैंकका सेयरहरु प्रत्येकका १ सय कित्ता प्रतिकित्ता क्रमशः २२ सय ९० ,२ हजार र ११ सय हाराहारीमा किनेर पाइला टेकेको उनको भनाई छ । 

सोही समयतिर खुलेको मिथिला लघुवित्तको आइपीओमा परिवारका ४ जनाका नाममा १३ कित्ताका दरले सेयर पाएको उनले सुनाइन् ।  

सेयर मार्केटले सोसलाइजेसन र प्रोफेसन बनाएकोमा लक्ष्मी दङ्ग देखिन्थिन्।

गृहिणी र सेयर लगानीकर्ताका रुपमा सक्रिय पराजुली सेयर मार्केटलाई पार्टटाइम बनाएर अन्य क्षेत्रमा समेत सक्रिय बन्ने योजना बनाइरहेकी छिन् ।

पाँच वर्षे सेयरको निकै छोटो यात्रामा आफूलाई दरिलो लगानीकर्ता साबित गरेकी उनले बजारकै आम्दानीबाट मासिक घरखर्च चलाउनदेखि लिएर इञ्जिनियर पढ्दै गरेका छोराछोरीको खर्च समेत उठाउने गरेकी छिन् । उनका छोरा इलेक्ट्रोनिक इञ्जिनियर र छोरीलाई बायोमेडिकल इञ्जिनियरिङ्ग पढाउन आफूलाई सेयर बजारले नै धानिरहेको पराजुलीको दाबी छ  ।

पछिल्लो समय धेरै लगानीकर्ता बजारबाट पलायन भए पनि उनी चाहि कसरी टिकिरहन सकिन त ? उनी भन्छिन्-'बुझेर र कसैको लहै लहैमा नलागी लगानी गर्ने र धैर्यता राख्न सक्ने हो भने बजारबाट भाग्नु पर्दैन ।' 

सेयर बजारको विशेषता भनेके उतारचढाव हुनु हो भन्ने राम्रोसँग बुझेकी उनले भरपर्दो सूचना लिएर लगानी गर्दा कहिल्यै घाटा सहन नपर्ने तर्क समेत गरिन् । 

कम्पनीका आधारभूत र प्राविधिक विश्लेषण गरेर लगानी गर्नुपर्ने उनको सुझाव छ । उनले लगानी गर्नुअघि कम्पनीका विभिन्न महत्वपूर्ण सूचक, बजार मूल्य र त्यसको तुलनामा प्रतिफलको दर लगायतका बिषयलाई अध्ययन गरेर मात्र लगानी गर्ने गरेकी छिन् ।

छिट्टै नाफा कमाउँछु भनेर ऋण लिएर लगानी गर्दा धेरैको टाट पल्टिएको दाबी गर्ने उनले सकेसम्म ऋण लिएर सेयरमा लगानी नगर्न र आम लगानीकर्ताको यस्तो सोंच बदल्न आग्रह गरिन् ।

मार्केट मेकरको अभावका कारण हाल बजारमूल्यमा असामान्य उतारचढाव देखिएको दाबी गर्ने उनले बजार अप्राकृतिक गतिमा दौडिन खोजेको आफ्नो विश्लेषण समेत सुनाइन् ।

आफू विज्ञ नभएतापनि स्वतन्त्र हिसाबले पोर्टफोलियो व्यवस्थापन गरेकी उनले विभिन्न समूहका सर्वोत्कृष्ट कम्पनी छनौट गर्ने गरेको छिन् । यद्यपि उनको रोजाइको क्षेत्र भने बैंकिङ्ग नै हो ।

बजार प्रवेश गर्दा लगानी गरेको ४० लाखलाई अहिले केही करोडमा रुपान्तरण गर्न आफू सफल भएको उनको भनाई छ । 

सेयरबाट कमाएको पैसाले घरखर्च र छोराछोरीको शिक्षामा लगानी गरेकी उनले भनिन्–‘म पैसा झिक्दिँन, बरु पोर्टफोलियो बढाउनमै मेरो ध्यान जाने गरेको छ । 

उनले बजारबाट किनेर धैर्यताका साथ लगानीका कारणले नै आफूले लगानीको दोहोरो, तेहोरोसम्म नाफा कमाएको दाबी समेत गरिन् ।

नवप्रवेशी लगानीकर्ताहरुका लागि कस्तो सुझाव दिनुहुन्छ ? भन्ने जिज्ञासामा सेयर साक्षरता, पुराना लगानीकर्ताहरुका सल्लाह, कन्सल्टेन्सीका सुझावलाई अङ्गालेर लगानी रणनीति बनाउनुपर्ने बताइन् ।

बजार प्रवेशको समयलाई धैर्यता नगुमाई लगानी गर्नुपर्ने उनको धारणा छ । 

केहीअघिको वियरिस ट्रेण्डमा समेत पोर्टफोलियो नकारात्मक नबनाई आफूले सेयरबाट मनग्गे कमाएको समेत उनले दाबी गरिन् ।

बजारमा आंशिक समय मात्र दिंदा पनि हुने भएकाले कामकाजी महिलाहरुका लागि समेत सेयर बजार लगानीको राम्रो विकल्प बन्नसक्ने उनको सुझाव छ । 

उनको भनाईमा बुद्धिमतापूर्ण लगानी गरे सेयर बजार सुरक्षित क्षेत्र हो । सेयर बजारमा भित्र पस्ने र बाहिर निस्कने रणनीतिमा दखल राखेमा सेयरबाट कहिल्यै घाटा नहुने पराजूलीको दाबी छ ।

उनले राज्यले सेयर साक्षरताका विषय पाठ्यक्रममै समावेश गर्नुपर्ने सुझाव समेत दिन भ्याइन् । 

सेयर बजारका चूनौतिहरुको बिषयमा सोधिएको प्रश्नमा उनले सेयर बजारमा अप्राकृतिक चलखेल हुने गरेको र कम्पनीभित्रका सञ्चालक र ठूला माछाहरुले खेल्ने गरेका आरोप लगाइन् । कहिलेकाहीं सेयरको भाउ घटबढ गराउन निराधार हल्ला चलाउने गरिएको र सुनियोजित रुपमा लगानीकर्तालाई फसाउने काम भएकोमा चलाखी अपनाउनुपर्नेमा उनको जोड छ । 

बजारमा सूचना लिन आएका बखत केही मेसेन्जरहरुले गलत सूचना र हल्ला फैलाएर लगानीकर्ता डुबाउने खेल हुने गरेको भन्दै उनले ग्राण्ड बैकको उदाहरण दिइन् । भनिन्–‘२ वटा सकारात्मक कुरा फिजाएर ग्राण्डको सर्किट लगाइएको थियो । तर भाग्यका कारणले १० प्रतिशत बढेपछि मैले ग्राण्डको सबै सेयर बेचेर प्रफिट बुक गरिसकेकी थिएँ । भोलिपल्ट ग्राण्ड बैंक धरासायी भएको र राष्ट्रबैंकले टेकओभर गरेको थियो । सूचनाहरुको आधिकारिता जाँच नगरी हौसिनुहुन्न । आफ्नो लजिक लगाउन समेत भूल्नुहुन्न ।

अनलाइन ट्रेडिङ्ग समस्यारहित ढंगले अगाडि बढेपछि आफूले पनि अनलाइन कारोबार गर्ने पराजुली बताउँछिन् ।

नेपालको सन्दर्भमा राम्रा राम्रा कम्पनीको सेयर अहिले सुपथ मूल्यमा पाइरहेको र प्रतिफलसमेत तत्काल पाउने भएकाले अहिले लगानीका सुअवसर भएको उनको तर्क छ । बचतलाई सेयर बजारमा लगाउँदा अझ राम्रो हुने उनको सुझाव छ । 

सेयर बजारको भविष्य उज्यालो भएकोमा आफू विश्वस्त रहेको पराजुलीले बताइन् ।

अनलाइनको सुन्दर पक्ष भनेकै आज नै खरिदबिक्री गर्न पाउनुपर्ने हो, तर यहाँ त्यस्तो नभएकोमा उनले आक्रोश पोखिन् । अनलाइनको अन्तर्राष्ट्रिय पद्धति अनुरुप नेपाली लगानीकर्ताले पनि खरिदबिक्री गर्न पाउनुपर्ने उनको माग छ । 

‘आज किनेर आज नै बेच्न पाइन्न भने यो अनलाइन नै होइन ।’  उनले भनिन्।

नियामक निकायले बेलैमा ध्यान दिनुपर्ने विषयमा चर्चा गर्दै उनले सूचना चूहावटलाई रोक्नुपर्ने, गलत सूचना प्रवाह हुन नदिन चलाख्याई र कडा नियमन गरिनुपर्ने र हल्लालाई निरुत्साहित हुने किसिमले कडा कारबाहीको व्यवस्था हुनुपर्ने बताइन् ।

अरु क्षेत्रको भन्दा लगानीको राम्रो  र सुरक्षित आधार सेयर बजार नै रहेको र सेयर बजारको साक्षर भएर मात्र लगानी गर्ने मनस्थिति बनाउन सकेको खण्डमा सेयरबाट करोडपति संभव रहेको पराजुली पूर्ण आत्मविश्वासका साथ भन्छिन् ।