काठमाण्डौ । दोश्रो बजारमा कतिपय वाणिज्य बैंकका सेयरहरु कौडीको भाउमा खरीद गर्ने अवसर प्रशस्त रहेको बेला विकास बैंकहरुको भाउ भने तुलनात्मक हिसाबले राम्रो रहेको छ । 

विकास बैंकहरुको दोश्रो बजारभाउ चौथो त्रैमासको वित्तीय विवरणबाट समेत ड्राइभ भएको देखिन्छ । यहीकारण लामो समयदेखि दोश्रो बजार मूल्यको हिसाबले समेत ‘लिडर’को रुपमा रहेका विकास बैंकहरु पछाडि परेका छन् भने केही विकास बैंक अगाडि आएका छन् । 

यो साताको अन्तिम कारोबार दिन बिहीबारको अन्तिम कारोबार मूल्यलाई आधार मानी हामीले विकास बैंकहरुको दोश्रो बजार मूल्यको तुलनात्मक विश्लेषण गर्ने प्रयास गरेका छौं । 

राष्ट्रिय स्तरका ८ वटा विकास बैंकहरुमध्ये अहिले दोश्रो बजारमा सबैभन्दा बढी मूल्य लुम्बिनी विकास बैंकको देखिएको छ । यो बैंकको दोश्रो बजार मूल्य प्रतिकित्ता रु.४००.४० रहेको छ । यो बैंकको दोश्रो बजार मूल्य कम्पनीको लाभांश क्षमताबाट ड्राइभ भएको देखिन्छ । राष्ट्रिय स्तरका विकास बैंकमध्ये सबैभन्दा राम्रो लाभांश क्षमता भएका कारण यो कम्पनीको सेयरभाउ बढिरहेको देखिएको हो । 

नाफा, प्रतिसेयर आम्दानी लगायतमा लामो समयदेखि विकास बैंकहरुबीच ‘लिडर’को भूमिकामा रहेको मुक्तिनाथ विकास बैंक दोश्रो बजार मूल्यका हिसाबले अहिले दोश्रो पोजिसनमा रहेको छ । यसको दोश्रो बजार मूल्य प्रतिकित्ता रु. ३९६ रहेको छ । 

त्यसपछि गरिमा विकास बैंक रहेको छ । जसको अन्तिम कारोबार मूल्य रु. ३८० छ । 

गत आर्थिक वर्षमा आक्रामक विजिनेश गरेर लोभलाग्दो ग्रोथ गरेको साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले वित्तीय विवरणमा झै दोश्रो बजारमा पनि आफूलाई अगाडि बढाउँदै लगेको देखिन्छ । साइनले दोश्रो बजार मूल्यमा गरिमालाई टक्कर दिइरहेको छ । साइनको दोश्रो बजारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता रु. ३७९ रहेको छ । 

दोश्रो बजारमा त्यसपछि महालक्ष्मी विकास बैंक रहेको छ । जसको अन्तिम कारोबार मूल्य प्रतिकित्ता रु. ३२२ रहेको छ । ज्योति विकास बैंक र कामना सेवा विकास बैंक समान रु. ३१५ मूल्यसहित त्यसपछिको स्थानमा छन् भने सांग्रिला डेभलपमेन्ट बैंकको दोश्रो बजार अन्तिम कारोबार मूल्य रु. ३१४ रहेको छ । 

क्षेत्रीय स्तरका विकास बैंक
क्षेत्रीय स्तरका विकास बैंकहरुको मूल्यलाई हेर्दा मितेरी डेभलपमेन्ट बैंकले रु.४००.८० सहित ‘लिड’ गरिरहेको छ । समग्र विकास बैंकहरुको दोश्रो बजार मूल्यमा पनि मितेरी सबैभन्दा अगाडि रहेको छ । मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षका लागि सबैभन्दा राम्रो लाभांश क्षमता बनाएका कारण समेत यसको मूल्य बढी हुनु स्वभाविक देखिन्छ । 

कतिपयलाई अचम्म लाग्नसक्छ, खराब वित्तीय विवरणका बाबजुद नारायणी डेभलपमेन्ट बैंक ३९४.८० रुपैयाँसहित क्षेत्रीय स्तरका विकास बैंकमा दोश्रो बजार मूल्यका हिसाबले दोश्रो पोजिसनमा छ । खराब अवस्थाका यस्ता कम्पनीको मूल्य कतिपय राम्रा वाणिज्य बैंकको भन्दा निकै बढी हुनु पछाडिका कारण सेयर कित्ताहरुको थोरै आपूर्ति र त्यसमा हुने चलखेल पनि प्रमुख हो । 

त्यसपछि ग्रीन डेभलपमेन्ट बैंकको रु. ३१८.८०, कर्पोरेट डेभलपमेन्ट बैंकको रु. ३१७, एक्सल डेभलपमेन्ट बैंकको रु. ३१३, कर्णाली डेभलपमेन्ट बैंक रु. २७८.१०, सप्तकोशी डेभलपमेन्ट बैंकको रु. २४२ र सिन्धु विकास बैंकको रु. २५८ रुपैयाँ रहेको छ । 

स्वभाविक कि अस्वभाविक ?
पूँजीबजारका जानकार गोविन्दप्रसाद घिमिरे दोश्रो बजारमा कुनै पनि कम्पनीको मूल्य निर्धारण त्यसको माग र आपूर्तिले निर्धारण गर्ने बताउँछन् । ‘आठवटा विकास बैंक बराबरको पूँजी एउटै वाणिज्य बैंकको रहेको छ । यसरी हेर्दा पनि विकास बैंकहरुको सेयरको सप्लाई कम छ । यसले मूल्य बढी देखिन्छ ।’ उनले भने–‘यो स्वभाविक हो ।’ 

घिमिरेले रिटर्न अन इक्वीटी(आरओई) र प्रतिसेयर आम्दानी(इपीएस)को कोणबाट हेर्दा वाणिज्य बैंकहरु पनि बलिया नै छन् । 

यसरी हेर्दा सस्तो मूल्यमा पाइराखिएको वाणिज्य बैंकको सेयर अहिले किनेर केही महिना पर्खिनेहरुले बजारमा कुस्त कमाउनसक्छन् भन्ने देखिन्छ ।