काठमाण्डौ । नयाँ लगानीकर्ताहरु पूँजीबजारको पछिल्लो प्रवृति देखेर हैरान छन् । उनीहरुले बजार परिसूचक(नेप्से इण्डेक्स) दिनहुँजसो घटिरहे पनि कारोबार रकममा भने खासै ठूलो गिरावट नआएको, बरु कतिपय दिनमा उल्टो बढेपछि बजारमा के भइरहेको हो बुझ्न सकिरहेका छैनन् । आखिर बजारमा के भइरहेको छ ? बजार कुन दिशातर्फ उन्मुख छ ? कारोबार रकम हेर्यो भने बजार घट्यो भन्ने अवस्था छैन, तर इण्डेक्स लगातार घटिरहेको छ, यसले के संकेत गरिरहेको छ ? यस्तै–यस्तै प्रश्नहरु सुरुवाती लगानीकर्ताहरुले गर्न थालेका छन् । आखिर पछिल्ला केही दिनमा पुँजीबजारमा के चाहि भइरहेको हो त ? इण्डेक्स दोहोरो अंकले घट्दा पनि कारोबार रकम(टर्नओभर) किन मेन्टेन भइरहेको होला ? 

‘एकदुईवटा कम्पनीको कारोबार बढ्दैमा समग्र टर्नओभर बढ्यो भन्नु मूर्खता हो । पछिल्लो समय बजारमा सेयर बिक्री गर्नेहरु धेरै छन् भने किन्नेको संख्या घटिरहेको छ, यसले भविष्यमा बजार केही तल झर्नसक्ने संकेत दिइरहेको छ ।’ 
रविन्द्र भट्टराई

हामीले लगानीकर्ताको यही प्रश्न सेयर बजारका विश्लेषकहरुलाई गरेका थियौं । उनीहरुले लाभांश घोषणाको लहरले निश्चित बैंक तथा बित्तीय संस्थाको सेयर कारोबार उच्च भए पनि औसतको कारोबार खासै माथि नरहेको स्पष्ट पारेका छन् । 

‘इण्डेक्स जसरी घटिरहेको छ, वास्तविक कारोबार पनि समग्रमा घटिरहेकै मान्नुपर्छ ।’ सेयर विश्लेषक रविन्द्र भट्टराईले बिजशालाले ‘बजारमा के भइरहेको हो ?’ भनेर प्रश्न गर्दा उत्तर दिंदै भने–‘लाभांश घोषणा गरेका कम्पनीको सेयर ठूलो परिमाणमा किनबेच भएर कारोबार रकम मेन्टेन भएजस्तो मात्र देखिएको हो, समग्रमा इण्डेक्ससँगै कारोबार पनि घटिरहेकै हो ।’ 

‘बुक क्लोजपछिको नयाँ प्राइस बुक क्लोजअघिको भन्दा केही घटेर आउँछ, यसकारण समेत लाभांश  घोषणा गरेका कम्पनीहरुमा लगानीकर्ताहरु धेरै जम्मा भइरहेका छन् ।’
अञ्जनराज पौड्याल

 

उनले मंगलबारको कारोबारलाई उदाहरण दिंदै नबील र एनआइसी एशिया बैंकले बोनस सेयरका लागि बुधबारदेखि बुक क्लोजको मिति तोकेकोले मंगलबार यी दुई कम्पनीको सबैभन्दा धेरै कारोबार भएको बताए । नबीलले करिब १८ करोडको कारोबार गर्यो भने एनआइसी एशियाको पनि १२ करोड ६१ लाख भन्दा बढीको कारोबार भयो । 

‘एकदुईवटा कम्पनीको कारोबार बढ्दैमा समग्र टर्नओभर बढ्यो भन्नु मूर्खता हो ।’ भट्टराईले भने–‘पछिल्लो समय बजारमा सेयर बिक्री गर्नेहरु धेरै छन् भने किन्नेको संख्या घटिरहेको छ, यसले भविष्यमा बजार केही तल झर्नसक्ने संकेत दिइरहेको छ ।’ 

लाभांश घोषणा गरी वितरणका लागि बुक क्लोजको मिति तय गर्ने कम्पनीको सेयरमा लगानीकर्ताहरु थुप्रिएका प्रवृति समेत देखिएको भट्टराईको विश्लेषण छ । ‘लगानीकर्ताहरु जता जता लाभांश छ, उतै उतै थुप्रिने प्रवृति देखिएको छ ।’ उनले भने–‘बुक क्लोज भइसकेका कम्पनीमा लगानीकर्ताको कम चाप छ भने बुक क्लोज हुन बाँकीमा बढी भीड देखिने गरेको छ । यसको अर्थ जता जता लाभांश छ, त्यता त्यता लगानीकर्ता दौडिरहेका बुझ्न सकिन्छ ।’ 

अर्का सेयर विश्लेषक अञ्जनराज पौड्यालले ठूला चाडपर्व, लाभांश घोषणापछिको बुक क्लोजको चटारो लगायतका कारण इण्डेक्स घटेर कारोबार रकम मेन्टेन भइरहेको दाबी गरे । कतिपय साना लगानीकर्ताले चाडपर्वको खर्च निकाल्ने नाममा आफूसँग भएको सेयर बिक्री गर्ने प्रवृतिले समेत बजारमा बिक्रीको चाप बढेको हुनसक्ने उनको अनुमान छ । 

अघिल्ला वर्षमा धेरै बैंक तथा बित्तीय संस्थाले दशैंतिहारपछि लाभांश घोषणा गर्ने गरेका भए पनि यो पटक चुक्तापूँजी बढाउनुपर्ने बाध्यताले दशैंअघि नै धेरैले लाभांश घोषणा गरेकाले समेत बजारमा इण्डेक्स घट्ने, तर कारोबार रकम स्थिर रहने प्रवृति देखिएको उनको भनाई छ । 

‘दशैंतिहारअघि नै धेरै कम्पनीले लाभांश घोषणा गरे, कतिले साधारणसभा नै गरिसके, कतिपय गर्ने क्रममा छन् ।’ पौड्यालले भने–‘बुक क्लोजपछिको नयाँ प्राइस बुक क्लोजअघिको भन्दा केही घटेर आउँछ, यसकारण समेत लाभांश  घोषणा गरेका कम्पनीहरुमा लगानीकर्ताहरु धेरै जम्मा भइरहेका छन् ।’

उनले समेत बजारमा बिक्रीको दवाब रहेको दाबी गरे । ‘तर घट्दो बजार भए पनि राम्रा कम्पनीहरुप्रति लगानीकर्ताको आकर्षण टुटेको छैन ।’ उनले भने –‘घट्दो भाउमा तीव्र मोलमोलाई गरेर किन्ने अवस्था छ, यसले गर्दा पनि टर्नओभर मेन्टेन छ, अनि इण्डेक्स चाहि घटेको छ ।’ उनको अनुमानमा बजार अब त्यति धेरै तल गिर्ने अवस्था चाहि छैन ।