काठमाण्डौ । एमाले र माओवादी केन्द्रसहितको सहभागितामा बनेको वर्तमान सत्ता गठबन्धन लगभग फूट्ने निश्चित देखिएको छ । 

आगामी राष्ट्रपतिको विषयमा चर्किएको विवादमा माओवादी केन्द्रले ठोस निर्णय गर्ने तयारी सुरु गरेपछि सत्ता गठबन्धन फूट्ने अवस्था बन्न थालेको हो । 

सत्ता गठबन्धनको एक दल माओवादी केन्द्र राष्ट्रपतिको विषयमा बनेको सहमति कार्यान्वयनमा इमानदार नदेखिएपछि एमाले लगायतका दलहरुको समर्थनमा सरकार बनेपछिदेखि नै समस्याहरु सुरु भएका थिए । यस्ता समस्या समाधानमा भन्दा पनि थप चर्काउने र अहिलेको सत्ता ढालेर नयाँ गठबन्धन र सत्ता कायम गर्ने खेल प्रभावकारी बन्दै जाँदा पुनः राजनीतिक अस्थिरता सुरु हुने अवस्था बनेको छ । 

एमालेले यो सरकार बन्दै गर्दा भएको सहमतिअनुसार आफूहरुले राष्ट्रपति पाउनुपर्ने आवाज सुरुवातदेखि नै उठाउँदै आएको छ । तर, माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड भने एमालेले दिने राष्ट्रपतिको उम्मेद्वारलाई स्वीकार गर्न नहुने मूडमा छन् । उनी बरु राष्ट्रपतिमा एमालेको ठाउँमा कांग्रेसका उम्मेद्वारलाई समर्थन गरेर जाने गरी आन्तरिक तयारीमा लागेका स्रोतहरुले बताएका छन् । 

‘प्रचण्डजीले पनि सरकार बनेपछि राजनीतिक संयन्त्र निर्माण लगायतका नाममा केपी ओलीले आफूलाई पेल्न थालेको अनुभूत गर्नुभएको छ । अहिले राष्ट्रपति पनि एमालेलाई दिएको खण्डमा ओलीले पुनः संसद विघटनको परिदृश्य तयार गर्ने बुझाई समेत उहाँमा देखिन्छ ।’ प्रचण्डसँग निकट माओवादीका एक स्थायी कमिटी सदस्यले बिजशालासँग भने–‘यसकारण अब उहाँको नेतृत्वमा हामीले छिटोमा फागुन १० गतेभित्र एमालेले दिएको राष्ट्रपतिको नाममा समर्थन नजनाउने, बरु कांग्रेसको उम्मेद्वारलाई राष्ट्रपतिमा समर्थन गर्ने ठोस निर्णय गर्दैछौं ।’ 

यदि माओवादीका ती नेताले भनेजस्तो घटनाक्रमको विकास भयो भने एमाले लगायतका केही दल वर्तमान सत्ता गठबन्धनबाट बाहिरिनेछन् । एमालेसँगै रास्वपा, राप्रपा र जनमत पार्टीले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिनेछन् । त्यसपछि कांग्रेससहितका दलहरुको सहभागितामा नयाँ गठबन्धन बन्ने विश्लेषण गर्न थालिएको छ । 

यो बीचमा प्रचण्डले सहमतिविपरीतका अभिव्यक्ति दिंदै हिँड्न थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन जोगाउन भगिरथ प्रयासलाई पनि जारी राखेकै छन् । तर, राष्ट्रपतिको विषयमा उनी लचक नभई ती प्रयासहरुले सार्थकता पाउनेछैनन् । 

माओवादीका अर्का एक नेताका अनुसार अब बस्ने स्थायी कमिटी बैठकले राष्ट्रपतिमा कांग्रेसको उम्मेद्वारलाई समर्थन गरेर अगाडि बढ्ने औपचारिक निर्णय गर्नेछ । 

केही दिनअघि कांग्रेस महामन्त्री गगनकुमार थापाले एक आमसभालाई सम्बोधन गर्दै फागुन १० गतेभित्रमा वर्तमान सत्ता गठबन्धन फूट्ने उद्घोष गरेका थिए । पछिल्लो समय ‘देउवाको दूत’को रुपमा प्रधानमन्त्री प्रचण्डसँग बाक्ला छलफलमा सहभागी हुँदै आएका थापाको भनाईलाई पनि माओवादी स्थायी कमिटी बैठकले गर्ने निर्णयसँग जोडेर हेरिएको छ । माओवादी नेताहरुले फागुन १० गतेभित्र स्थायी कमिटी बैठक बसी कांग्रेससँग सहकार्यको पुनः थालनी गर्ने आश्वासन दिएकै कारण थापाले त्यस्तो अभिव्यक्ति दिएका छन् । 

यता, एमालेमा भने साझा खालको व्यक्तिलाई राष्ट्रपतिमा समर्थन गरेरै भए पनि सत्ताबाट बाहिरिन नहुने मत घनिभूत हुँदै गएको छ । उपमहासचिव पृथ्वी सुब्बा गुरुङ लगायतका नेताहरु अहिलेको सत्ता गठबन्धन कुनै पनि हालतमा जोगाउनुपर्ने पक्षमा छन् । तर, यी नेताहरुको यो धारले धेरै प्रभावकारी काम गर्ने सम्भावना भने देखिन्न । 

यदि रातारात चमात्कार भएन वा कुनै शक्तिकेन्द्र हाबी भएन भने वर्तमान सत्ता गठबन्धनको आयू अब धेरै नरहेको सहजै अनुमान गर्न सकिन्छ ।