काठमाण्डौ। पछिल्लो समय काठमाण्डौमा बढ्दै गएको संक्रमितको आँकडाले राजधानी कोरोनाको उच्च जोखिममा रहेको स्वास्थ्य विज्ञहरुले बताएका छन्। यदि स्वास्थ्य सतर्कर्ता नअपनाए भुसमा आगो फैलिएसहर यो भाइरसको संक्रमण फैलिन सक्ने उनीहरुले चेतावनी पनि दिएका छन्। 

राजधानीका करिब ३० जनाभन्दा बढी कतै नगएका व्यक्तिमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य विज्ञहरुले यस्तो चेतावनी दिएका हुन्। ‘राजधानीमा बाक्लो जनसंख्या छ, अहिले ट्राभल हिस्ट्री नै नभएकाहरुमा भटाभट संक्रमण देखिन थालेको छ’, उनीले चेतावनी दिँदै भनेका छन्, ‘यदि सतर्कता नअपनाए उच्च जोखिम आइपर्न सक्छ।’ 

यसैबीच स्वास्थ्य मन्त्रालयको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाले स्थानीय संक्रमण भए÷नभएको यकिन गर्न शनिबारदेखि स्वाब नमुना संकलन सुरु गरेको छ। हिजो शनिबारमात्र महाशाखाले नख्खुमा ११० र तीनकुने क्षेत्रमा ११८ जनाको स्वाब संकलन गरेको छ। 

काठमाण्डौका वडाध्यक्षहरुसँगको समन्वयमा अन्य १० ठाउँसमेत गरी १ हजार २०० जनाको नमुना संकलन गर्ने अभियानमा महाशाखा जुटेको छ। धेरै भीडभाड र संक्रमितहरु घुलमिल हुनसक्ने सम्भावित क्षेत्र काठमाण्डौका तीनकुने, शंखमूल, टोखा, कपन, ललितपुरको नख्खु र खुसिबु र भुक्तपुरका केही स्थानमा गएर स्वाब संकलन गरिने महाशाखाले जनाएको छ।

स्वास्थ्य विभागका अनुसार हालसम्म राजधानीमा १५ हजार व्यक्तिको पीसीआर परीक्षण भइसकेको छ। ट्राभल हिस्ट्री नै नभएकामा संक्रमण देखिँदा सरकारलाई अहिले टाउको दुखाइको विषय बनेको छ। 

विदेशबाट दैनिकजसो हवाईजहाजमार्फत भइरहेको उद्धारमा आउने नेपालीको निगरानीमा सरकार चुक्दा यो अवस्था आएको हुन सक्ने स्वास्थ्य विज्ञहरु औंल्याउँछन्। विदेशबाट पीसीआर जाँच गरेर आएका र नगरी आएकालाई राख्ने होल्डिङ सेन्टर फरक–फरक नभएकाले संक्रमण विस्तारको सम्भावना बढेको उनीहरुको ठहर छ। 

राजधानीमा बसोबास गर्ने अधिकांशमा उपत्यकामा बाहिरबाट आएका मानिसमा मात्रै कोरोनाको संक्रमण छ र आफू सुरक्षित छौं भन्ने भ्रम छ। त्यसले गर्दा पनि यहाँ छिटो संक्रमण फैलिनसक्ने जोखिम छ। 

अत्यावश्यक काम भएमात्र मास्क लगाएर, दुई मिटरको सामाजिक दूरी कायम गरेर घरबाहिर निस्किने, बेलाबेलामा हात साबुनपानीले धुने वा सेनिटाइजर प्रयोग गर्नेजस्ता स्वास्थ्य सुरक्षाको उपाय अपनाउनमा राजधानीवासीले हेलचेक्र्याइँ गरिरहेको विज्ञहरु बताउँछ। यस्ता लापरबाहीले ठूलो संकट निम्तिन सक्ने उनीहरुको चेतावनी छ। 

यसैबीच केही दिनअघिदेखि स्वास्थ्य विज्ञहरुको एक समूहले गरेको अध्ययनमा राजधानीका ढलमै कोरोनाभाइरस देखिएको थियो। ढलमै कोरोनाभाइरस देखिनु भनेको संक्रमण भित्रभित्रै सल्केको अवस्था हो।

सेन्टर फर मोलिक्युलर डायनामिन नेपालले राजधानीका घना मानववस्ती भएका चारवटा ठाउँका ढलको नमुना लिएर परीक्षण गर्दा दुईवटा नमुनामा कोरोनाभाइरस देखिएको थियो। अनुसन्धानकर्ता डा.दिवेश कर्माचार्यका अनुसार हरेक ढलमा १०० देखि ५०० घरको ढल मिसिने गरेको थियो। ‘ती दुवै नमुनामा चीनको वुहानमा पाइएको प्रजातिकै भाइरस पाइयो’, उनी भन्छन्। 

यसबारे अनुसन्धानकर्ताले स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्लाई जानकारी दिइसकेका छन्। 

स्वास्थ्य विभागका अनुसार हालसम्म उपत्यकाका काठमाण्डौमा १०९, भक्तपुरमा २८ र ललितपुरमा १७ जना संक्रमित भइसकेका छन्।