काठमाण्डौ । लकडाउन खुलेसँगै प्रदेश नं. १ र २ मा कोरोना संक्रमणको मामिला दिनदिनै बढ्दै जान थालेको छ।

यी दुवै प्रदेशमा कोरोना संक्रमण समुदायमा देखिन थालेको छ। जसका कारण राजविराज, वीरगन्ज र इनरुवा क्षेत्रमा प्रतिबन्धहरु नै लगाउनुपर्यो। 

प्रदेश २ मा मात्रै बुधबारसम्म ४ हजार ५४४ जना संक्रमित भेटिएका छन्। जसमध्ये १२ जनाको मृत्यु भइसकेको छ। 

यो प्रदेशमा हालसम्म २६ हजार ४०७ जनाको स्वाब संकलन गरिएको छ। त्यसमध्ये अब २ हजार ५२१ जनाको मात्र नतिजा आउन बाँकी छ। 

संक्रमणको मामिला बढ्न थालेपछि फेरि लकडाउनमा जानुपर्ने स्थिति आउने स्वास्थ्य विज्ञहरु भनाइ छ। अहिले यो प्रदेशमा लक्षणसहितका संक्रमित बढी देखिन थालेका छन्। 

अहिलेको अवस्थामा उच्च सतर्कता र सावधानी नअपनाइए स्थिति भयावह हुन सक्ने विज्ञहरुको चेतावनी छ। 

संक्रमणलाई नियन्त्रण गर्न परीक्षणको दायरा बढाउन विज्ञहरुले सुझाव दिएका छन्। संक्रमितलाई तत्काल आइसोलेसनमा राख्ने व्यवस्था र उनको सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान तथा ठाउँ सिल गरिनुपर्ने उनीहरुको भनाइ छ। 

विज्ञहरुले आम जनता पनि सतर्कता रहँदै सामाजिक दूरीको पालनासँगै मास्क र सेनिटाइजरको प्रयोगमा जोड दिनुपर्ने बताउँछन्। 

यसैगरी प्रदेश १ को राजधानी विराटनगर, कटहरी गाउँपालिका र जहदा गाउँपालिकामा अत्यावश्यकबाहेक अन्य सेवा बन्द गरिएका छन्। 

विराटनगरमा बितेको एक साताको अवधिमा ६० जनामा संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये आधाको ट्राभल हिस्ट्री नै छैन। 

प्रदेश १ मा भारतबाट स्वदेश फर्किएकाहरुमा बढी कोरोना संक्रमण देखिएको छ। संक्रमित मध्ये ६८ प्रतिशत भारतबाट आएकाहरु हुन्। तेस्रो देशबाट आएकाहरुको संख्या  १८ प्रतिशत छ भने नेपालमै संक्रमण भएका  १४ प्रतिशत छन्। संक्रमण देखिएकामध्ये १३ प्रतिशतमा मात्र लक्षण देखिएको छ।

प्रदेश १ सरकारले कोरोना संक्रमण फैलन सक्ने उच्च जोखिममा २० वटा स्थानीय तहलाई राखेको छ। भारतसँग सीमा जोडिएका चार जिल्लाका २० वटा स्थानीय तहलाई ‘रिक्स जोन’ (जोखिमयुक्त क्षेत्र) मा राखेको हो। जसमा मोरङका ६, सुनसरीका ५, झापाका ५ र इलामका ४ वटा स्थानीय तह छन्।
प्रदेश सरकारले मोरङको विराटनगर महानगरपालिका, जहदा र धनपालथान गाउँपालिकालाई उच्च जोखिममा राखेको छ। त्यस्तै भारतसँग सीमा जोडिएका रंगेली, सुनबर्सी र रतुवामाई नगरपालिका जोखिममा छन्।
सुनसरीका कोशी, भोक्राहा नर्सिङ, हरिनगर, कप्तानगञ्ज, बर्जु जोखिममा छन्।

झापाको मेचीनगर, भद्रपुर, कचनकबल, गौरीगञ्ज र झापा गाउँपालिका जोखिममा छन्। इलामको रोङ, सूर्याेदय माइजोगमाई र सन्दकपुर जोखिमको सूचीमा छन्।