काठमाण्डौ । कोरोना भाइरसको संक्रमणको त्रास उत्पन्न भएपछि सभामुख अग्नी सापकोटाले संसद बैठक एक साताका लागि स्थगित गर्ने घोषणा गरेका छन् । 

कोरोनाभाइरस सङ्क्रमण रोकथामका लागि पर्याप्त पहल सरकारले नगरेको भन्दै विभिन्न दलका सांसदहरूले आफ्नो धारणा राखिरहेका बेला सभामुख अग्नी सापकोटाले संसद् बैठक एक साताका लागि स्थगित गर्ने बताएका हुन्।

सरकारले भिडभाड हुने कुनै कार्यक्रम वा भोजमा सहभागी नहुन सर्वसाधारण आग्रह गरिरहेका बेला कतिपय सांसदहरूले संसद्को बैठक पनि स्थगित गर्नुपर्ने माग गरेका थिए।

नेपालमा कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणका लागि आवश्यक कदम नचालिएको भन्दै प्रतिनिधि सभाको बिहीवारको बैठकमा सांसदहरूले सरकारको चर्को आलोचनासमेत गरे।

बैठकको शून्य र विशेष समयमा बोल्दै सांसदहरूले 'अन्य देशहरूले कोरोनाभाइरससँग जुझ्न अपनाएको जस्तो पूर्वसतर्कता नेपालले अपनाउन नसकेको' आरोप लगाए।

सांसदहरूबाट आएकै सुझावका आधारमा संसद् बैठक स्थगित गर्ने निर्णय आफूले गरेको सभामुख सापकोटाले बीबीसीलाई बताएका हुन्।

'प्रतिनिधि सभाका सदस्यहरूले केही समय स्थगित गर्न राम्रो हुन्छ भनेर सुझाव दिनुभएको थियो। सबै तिरबाट यस्तै सुझाव आइरहेको थियो। विश्वव्यापी रुपमा पनि यो महामारीकै रुपमा आएको हुनाले चैत ७ गतेसम्म स्थगित गरेका छौँ।'- बीबीसीसँग उनले भनेका छन्  ।

एक सातापछि अवस्था हेरेर थप निर्णय गरिने उनले बताए।

यसैबीच, बिहीवार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अहिलेसम्म नेपालमा ४५० वटा कोरोनाभाइरसको परीक्षण गरिएकोमा एकजनामा मात्रै सङ्क्रमण देखिएको जनाइएको छ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार ६ जनालाई अलग्गै आइसोलेसन वार्डमा राखिएको छ।

उक्त पत्रकार सम्मेलनमा सरकारले प्रस्तुत गरेको रणनीतिमा प्रभावित देशमा नेपालबाट हुने उडानहरू रोक्नेदेखि लिएर कुनै क्षेत्र प्रभावित भएमा त्यसलाई बन्द गर्न सकिने समेत उल्लेख छ।

-BBC