काठमाण्डौ । कोरोना भाइरसको संक्रमण र रोकथामका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । लकडाउनलाई सरकारले पाँचौ पटक आज लम्ब्याउने औपचारिक निर्णय गर्दैछ । यही दिन कोरोनाबाट देशको आर्थिक तथा वित्तीय अवस्थामा परेको प्रभावको पहिलो तस्विर सार्वजनिक भएको छ ।
नेपाल राष्ट्रबैंकले चालु आर्थिक वर्षको नौ महिनासम्मको देशको आर्थिक तथा वित्तीय अवस्थाको तस्विर सार्वजनिक गरेको हो ।
यसको अर्थ चैत मसान्तसम्मको अवस्था सार्वजनिक भएको छ । चैत महिना लकडाउनका कारण देशको अर्थतन्त्रमा प्रभाव पर्न थालेको सुरुवाती चरण हो । यसकारण यसलाई कोरोनापछिको देशको आर्थिक तथा वित्तीय अवस्थाको पहिलो तस्विर मान्न सकिन्छ ।
कोरोनापछि देशको आर्थिक तथा वित्तीय अवस्था कतातर्फ जाँदैछ ? यो बुझ्न यो तस्विर तथा राष्ट्रबैंकले सार्वजनिक गरेको तथ्यांक सहयोगी साबित हुनेछ ।
उसो भए आउनुहोस् हेरौं कोरोनापछि देशको आर्थिक तथा वित्तीय अवस्थाको तस्विर कस्तो बन्दै रहेछ त ?
वास्तविक क्षेत्र
आर्थिक वर्ष २०७६/७७ मा २.३ प्रतिशत आर्थिक वृद्धि रहने केन्द्रीय तथ्यांक विभागको प्रारम्भिक अनुमान छ । कोभिड–१९ को प्रभावका कारण समीक्षा वर्षमा आर्थिक वृद्धि न्यून रहने देखिएको हो । कोभिड–१९ को प्रभावका कारण खानी तथा उत्खनन, उत्पादन, निर्माण, होटेल तथा रेष्टुरेन्ट एवम्यातायात उपक्षेत्रको आर्थिक वृद्धि ऋणात्मक रहने अनुमान गरिएको छ ।
चालु आर्थिक वर्ष कृषि क्षेत्रको वृद्धि २.६ प्रतिशत, उद्योग क्षेत्रको ३.२ प्रतिशत तथा सेवा क्षेत्रको वृद्धि २.० प्रतिशत रहने अनुमान छ । आर्थिक वर्ष २०७६/७७ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको अंश क्रमशः २७.६ प्रतिशत, १४.३ प्रतिशत र ५८.१ प्रतिशत रहने अनुमान छ
आर्थिक वर्ष २०७६/७७ मा कुल गार्हस्थ्य बचत कुल गार्हस्थ्य उत्पादनको १८.१ प्रतिशत रहने अनुमान छ । यसैगरी कुल स्थिर पुँजी निर्माण कुल गार्हस्थ्य उत्पादनको २८.१ प्रतिशत, कुल पुँजी निर्माण ५०.२ प्रतिशत र कुल राष्ट्रिय वचत ४६ प्रतिशत रहने अनुमान छ ।
प्रदेशगत रुपमा हेर्दा आर्थिक वर्ष २०७६/७७ मा सुदुरपश्चिम प्रदेशको सबैभन्दा वढी ४.१ प्रतिशत र वागमती प्रदेशकोसबैभन्दा कम १.२ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान छ । कुल गार्हस्थ्य उत्पादनमा वागमती प्रदेशको अंश सबैभन्दा बढी ३५.८ प्रतिशत एवम्कर्णाली प्रदेशको सबैभन्दा न्यून ४.३ प्रतिशत रहने अनुमान छ ।
मुद्रास्फीति
२०७६ चैतमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.७४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.४४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.६८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.४८ प्रतिशत रहेको छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत तरकारी, फलफूल, मसला र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि उच्च रहेको छ । गैर–खाद्य तथा सेवा समूह अन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको छ ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ७.०४ प्रतिशत, पहाडमा ५.८४ प्रतिशत र हिमालमा ४.८३ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७५ चैतमा यी क्षेत्रहरुमा क्रमशः ४.७४ प्रतिशत, ३.९५ प्रतिशत, ४.८० प्रतिशत र ६.२० प्रतिशत मुद्रास्फीति रहेको थियो ।
बाह्यक्षेत्र
आर्थिक वर्ष २०७६/७७ को नौ महिनामा कुल वस्तु निर्यात १२.९ प्रतिशतले वृद्धि भई रु.७८ अर्ब ८२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १७.७ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ २५.४ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः २८.१ प्रतिशत र ७.५ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, आयुर्वेदिक औषधि, जडिबुटी, दन्तमन्जन लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, ऊनी गलंैचा लगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०७६/७७ को नौ महिनामा कुल वस्तु आयात ७.५ प्रतिशतले घटेर रु.९८२ अर्ब ५३ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २१.३ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा अन्य मुलुकबाट भएको आयात ३.१ प्रतिशतले बढेको छ भने भारत तथा चीनबाट भएको आयात क्रमशः १२.३ प्रतिशत र १.० प्रतिशतले घटेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सिट, कच्चा सोयाविन तेल, कम्प्युटर तथा पार्टपुर्जा, लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, सुन, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ ।
समीक्षा अवधिमा खुद सेवा आय रु.४ अर्ब ५९ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.९ अर्ब ६२ करोडले घाटामा रहेको थियो ।
समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा ४ प्रतिशतले कमी आई रु.६२६ अर्ब ९० करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.९ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ९.९ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १०.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७.५ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १५ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ४.४ प्रतिशतले कमी आई रु.७१३ अर्ब ११ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २०.९ प्रतिशतले बढेको थियो ।
चालु खाता एवम् शोधनान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता घाटा रु.१३५ अर्ब ५४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु.२०४ अर्ब ८० करोड रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको नौ महिनामा १ अर्ब ८० करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब १८ करोड रहेको छ ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर रु.११ अर्ब ६२ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१६ अर्ब ४८ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१२ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.७ अर्ब १० करोड रहेको थियो ।
समीक्षा अवधिमा शोधनान्तर स्थिति रु.३६ अर्ब ६१ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु.६४ अर्ब ६८ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको नौ महिनासम्ममा ५६ करोड ८५ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ३२ करोड १० लाखले बचतमा रहेको छ ।
२०७६ असार मसान्तमा रु.१०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले बृद्धि भई २०७६ चैत मसान्तमा रु.११५५ अर्ब ९० करोड बराबर पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७६ चैत मसान्तमा ९ अर्ब ४९ करोड पुगेको छ ।
आर्थिक वर्ष २०७६/७७ को नौ महिनासम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.७ महिनाको वस्तु आयात र ९.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा अवधिमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३०.७ प्रतिशत, ७८.८ प्रतिशत र २९.६ प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेका थिए ।
सरकारी वित्त स्थिति
आर्थिक वर्ष २०७६/७७ को नौ महिनामा बैंकिङ्ग कारोबारमा आधारित सरकारको वित्त स्थिति रु.५६अर्ब २८ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारी वित्त स्थिति रु.१७ अर्ब २९ करोडले बचतमा रहेको थियो ।
समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित (सोझै भुक्तानी र भुक्तानी लिन बाँकी चेकबाहेक) संघीय सरकारको कुल खर्च रु.६३८ अर्ब १ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो खर्च रु.५९६ अर्ब ६२ करोड रहेको थियो ।
समीक्षा अवधिमा बैंकिङ्ग कारोबारमा आधारित राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बाँडफाँट हुने रकमसमेत) रु.५९० अर्ब ७६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल राजस्व संकलन रु.६०४ अर्ब ६० करोड रहेको थियो ।
मौद्रिक स्थिति
आर्थिक वर्ष २०७६/७७ को ९ महिनामा विस्तृत मुद्राप्रदाय ८.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय ९.३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ चैत मसान्तमा विस्तृत मुद्राप्रदाय १५.३ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) रु.३६ अर्ब ६१ करोड (३.७ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.६४ अर्ब ६८ करोड (६.१ प्रतिशत) ले घटेको थियो ।
समीक्षा अवधिमा सञ्चित मुद्रा ४.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा १० प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ चैत मसान्तमा सञ्चित मुद्रा ४.६ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा कुल आन्तरिक कर्जा ८.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १३.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ चैत मसान्तमा यस्तो कर्जा १६.८ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १२.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी १६.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १५.४ प्रतिशतलेबढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ९.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १०.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १६.९ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १६.५ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७६ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १४.३ प्रतिशतले बढेको छ ।
२०७५ चैतमा ९१–दिने ट्रेजरी विल्सको भारित औसत ब्याजदर ४.४४ प्रतिशत रहेकोमा २०७६ चैतमा २.१३ प्रतिशत कायम भएको छ । वाणिज्य बैंकहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर २०७५ चैतको ५.२८ प्रतिशतको तुलनामा २०७६ चैतमा २.१३ प्रतिशत कायम भएको छ ।
वाणिज्य बैंकहरुको औसत आधार दर २०७५ चैतको ९.६४ प्रतिशतको तुलनामा २०७६ चैतमा ९.३६ प्रतिशत कायम भएको छ । २०७६ चैतमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ६.७४ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ११.७७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यी दरहरु क्रमशः ६.६७ प्रतिशत र १२.२८ प्रतिशत रहेका थिए ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago