काठमाण्डौ। प्रदेश १ मा कोरोना संक्रमणबाट पहिलोपटक एक व्यक्ति ज्यान गएको छ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी राजविराज–१ निवासी ७३ वर्षीय वृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको हो। प्रदेश १ मा कोरोनाबाट मृत्यु भएको यो नै पहिलो हो। योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० पुगेको छ।

प्रतिष्ठानका अनुसार ती वृद्धलाई अस्ति बुधबार अस्पताल भर्ना गरिएको थियो। उनीमा मधुमेह, उच्च रक्तचाप र मुटु रोगको समस्या देखिएको थियो। उपचारकै क्रममा बुधबार ती वृद्धको स्वाब संकलन गरिएकोमा भोलिपल्ट बिहीबार रिपोर्ट पोजेटिभ देखिएको हो। 

रिपोर्ट पोजेटिभ आएपछि ती वृद्धलाई अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार सुरु गरिएको थियो। तर बिहीबार नै उनको मृत्यु भयो। 

मापदण्ड पुर्याएर शव व्यवस्थापनका लागि स्थानीय प्रशासनलाई आग्रह गरिसकिएको प्रतिष्ठानले जनाएको छ।