काठमाण्डौ । कोरोना संक्रमणबाट वीरगन्ज र भरतपुरमा शनिबार राति थप दुई महिलाको मृत्यु भएको छ।

वीरगन्जको नारायणी अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा ५६ वर्षीया एक महिलाको मृत्यु भएको छ। उनी वीरगन्ज महानगरपालिका–११ की बासिन्दा हुन्। 

ती महिलामा गत साउन २४ गते कोरोना पुष्टि भएको थियो। उनलाई सोही दिनदेखि अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो। उनमा थाइराइडसँगै ज्वरो र श्वासप्रश्वासको समस्या थियो। 

स्थिति गम्भीर बनेपछि ती महिला हिजो शनिबार भेन्टिलेटरमा राखिएको थियो। तर ज्यान बचाउन नसकिएको चिकित्सकहरुले बताएका छन्। 

यसैगरी भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–३ की ६५ वर्षीया अर्की महिलाको शनिबार राति मृत्यु भएको छ। ती महिला गत भदौ १ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। तर ती महिलामा भएपछि हिजो रातिमात्रै कोरोना नतिजा पोजेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए। 

ती महिलाको कलेजोमा समस्या थियो। उनलाई गत साउन ३२ गते पुरानो मेडिकल कलेजमा भर्ना गरिएको थियो। उनको कलेजोको शल्यक्रिया गर्नुअघि पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो।