काठमाण्डौ । देशका विभिन्न भागमा बितेको २४ घनटामा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट बाराका २ जना तथा महोत्तरी, कैलाली, मोरङ, ललितपुर र बाँकेमा एक÷एकजनाको ज्यान गएको हो। योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७९ पुगेको छ। 

कोरोना संक्रमित बाराका दुई पुरुषको मंगलबार राति वीरगन्जस्थित हेल्थ केयर कोभिड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। मृतकमध्ये एकजना बारा कलैया उपमहानगरपालिका–१ का ६६ वर्षीय पुरुष र अर्का विश्रामपुर गाउँपालिका–१ का ४२ वर्षीय पुरुष छन्। मृतकमध्ये ६६ वर्षीय पुरुषलाई गत भदौ २ गते र ४२ वर्षीय पुरुषलाई हिजोमात्र कोरोना संक्रमण पुष्टि भएको चिकित्सकहरुले बताएका छन्। 

यसैगरी महोत्तरीका कोरोना संक्रमित ६० वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति विराटनगरस्थित न्युरो अस्पतालमा मृत्यु भएको छ। 

ती व्यक्तिलाई गत साउन ३१ गते अस्पताल भर्ना गरिएको थियो। गत भदौ ३ गते उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको थियो।

कोरोना संक्रमित मोरङको विराटनगर महानगरपालिका–११ की ४४ वर्षीया महिलाको उपचारका क्रममा मंगलबार राति विराट मेडिकल कलेजमा मृत्यु भएको छ। श्वासप्रश्वासमा अत्याधिक समस्या भएपछि ती महिलालाई मंगलबार दिउँसोमात्र अस्पतालमा भर्ना गरिएको थियो। चिकित्सकहरुका अनुसार पीसीआर परीक्षणका क्रममा ती महिलामा मंगलबार राति नै कोरोना पुष्टि भएको थियो। 

यस्तै ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमण ५४ वर्षीय एक पुरुषको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय ललितपुरद्वारा जारी विज्ञप्तिअनुसार काठमाण्डौनिवासी ती व्यक्तिको गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचार भइरहेको थियो। 

बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमित नेपालगन्जनिवासी ३७ वर्षीय एक युवकको मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या भएपछि गत सोमबार उनलाई अस्पताल भर्ना गरिएको थियो। सोही दिन कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो। भोलिपल्ट अर्थात हिजो मंगलबार उनको रिपोर्ट पोजेटिभ आएको थियो। 

अवस्था जटिल बनेपछि हिजो उनलाई भेन्टिलेरमा राखेर उपचार सुरु गरिए पनि बचाउन नसकिएको अस्पतालका चिकित्सकहरुले बताएका छन्। 

कोरोना संक्रमित कैलालीको गोदावरी नगरपालिका–११ का ४५ वर्षीय पुरुषको बुधबार बिहान उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको छ। ती व्यक्तिमा मंगलबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो। पुष्टि भएलगत्तै उनलाई धनगढीको निसर्ग अस्पतालको आईसीयूबाट रिफर गरी सेती प्रादेशिक अस्पतालमा लगेर भर्ना गरिएको थियो। 

उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको चिकित्सकहरुले बताएका छन्।