काठमाण्डौ । कोरोना संक्रमणबाट गर्भवतीसहित थप तीनको मृत्यु भएको छ। कोरोनाबाट पर्सामा दुईजना र रुपन्देहीमा एकजनाको मृत्यु भएको हो।

वीरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा बिहीबार राति पर्साको धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र शुक्रबार बिहान बाराको सुवर्ण गाउँपालिका–४ हर्दियाकी २३ वर्षीया गर्भवती महिलाको मृत्यु भएको छ। ७२ वर्षीय वृद्धलाई गत भदौ ८ गते अस्पताल भर्ना गरिएको थियो। भर्ना गरिएपछि गरिएको पीसीआर परीक्षणमा उनलाई कोरोना पुष्टि भएको चिकित्सकहरुले बताएका छन्।

हर्दियाकी युवती गर्भवती थिइन्। उनको पेटमा ३३ हप्ताको गर्भ थियो। श्वासप्रश्वासमा समस्या भएपछि गत भदौ ८ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। त्यही क्रममा उनको मृत्यु भएको चिकित्सकहरुले बताएका छन्।

यसैगरी बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा बुधबार राति कोरोना संक्रमित कपिलवस्तुको कपिलवस्तु नगरपालिका–१ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ। उनलाई गत भदौ ५ गते कोरोना पोजेटिभ देखिएको थियो। उनलाई उच्च रक्तचाप र मधुमेहको पनि समस्या रहेको चिकित्सकहरुले बताएका छन्।